भण्टाबारी/ सुनसरीको गढी गाउँपालिका–६ मझौका वीरेन्द्र खड्गा र सप्तरी कञ्चनरूप नगरपालिका–८ की सिङ्कु यादवसँग २०७४ वैशाख महिनामा विवाह भयो । विवाहको ४ महिनासम्म श्रीमान् श्रीमती सँगै बसे । पछि श्रीमान् वीरेन्द्रले श्रीमती सिङ्कुलाई कुटपिट गर्दै घरनिकाला गरे । केटा पक्षद्वारा २ वर्षयता घरनिकाला गर्ने, खान–लाउन नदिने, विवाह दर्ता र नागरिकता बनाउनसमेत नमानेको भन्दै सिङ्कुका माइती पक्षले सोमबार केटापक्षको घरमा तालाबन्दी गरेका छन् ।

केटापक्षले यातना दिने क्रम बढेपछि बाध्य भएर स्थानीयबासीको सहयोगमा आफन्तहरूले केटाको घरमा चार वटा कोठामा तालाबन्दी गरेको पीडित २२ वर्षीया सिङ्कुले बताइन् । गढी गाउँपालिका–६ मझौका स्थानीयहरूले युवतीलाई विवाहपछि यातना दिएको र घरबाट निकाला गरेकाले केटाको घरमा तालाबन्दी गरेको बताए । केटी अन्यायमा परेकोले आफूहरूले केटाको घरमा तालाबन्दी गर्न उनको आफन्तलाई सहयोग गरेको स्थानीय प्रदीपकुमारले बताए ।

केटीको माइती पक्षबाट आएको आफन्त र गाउँले केटाको घरमा आक्रोसित हुँदै आएपछि केटाका बुबा बमभोली खड्गा घर छाडेर भागेको उनले बताए । केटा र केटीको सामाजिक तथा जातीय संस्कार र रीतिरिवाज अनुसार विवाह भएकाले केटाले यातना नदिएर खुशीसाथ राख्नुपर्ने स्थानीय रानी यादवले बताइन् । केटाले विवाहपछि श्रीमतीलाई घरनिकाला गरेको भन्दै केटाको घरमा तालाबन्दी गर्दै केटीका आफन्त तथा स्थानीयले गढी गाउँपालिका कार्यालयअगाडि सोमबार एक घण्टा प्रदर्शन समेत गरेका छन् । गढी गाउँपालिकाको औरावनीमा पीडित पक्षकाले प्रदर्शन गरेका हुन् ।

घटनाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले दबाबका लागि प्रदर्शन र नाराबाजी गरेको प्रदीपले बताए । गढी गाउँपालिकाका स्थानीय तथा पीडित केटीका आफन्तहरूले न्यायका लागि भन्दै गाउँपालिका घेराउ गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले ‘महिलालाई अन्याय गर्न पाइँदैन, महिलालाई खेलौना बनाउन पाइँदैन, अन्याय गर्ने न्याय समिति र अध्यक्ष चाहिँदैन’ लगायतका नाराबाजी गर्दै गाउँपालिकाअगाडि प्रदर्शन गरेका थिए ।

पीडित पक्षले केटीलाई खान लाउन दिनुपर्ने, नागरिकता र विवाह दर्ता बनाइदिनुपर्ने तथा पत्नी सँगै बस्नुपर्ने माग राखेका छन् । यता गढी गाउँपालिका न्यायिक समितिकी संयोजक राजकुमारी चौधरीले न्यायिक समितिमा खबर भएको तर केटापक्ष उपस्थित नभएकाले समस्याको समाधान नभएको बताइन् ।