लहान/ मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर मृत्यु भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुरको आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन् ।
महिलाको मोबाइल चोरीको आरोपमा शनिबार साँझपख लहान बजारमा पक्राउ परेपछि करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान डिएसपी चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरू महेशबारी प्रहरी कार्यालय पुगेका थिए । शौचालयको भेण्टिलेसनमा शव भेटिएपछि जनप्रतिनिधि, मानवअधिकारकर्मीको रोहवरमा घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको डिएसपी रिजालले बताए ।
प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै लहान प्रहरीको हिरासतमा पु¥याइएकी ठाकुर र बैङ्किङ कसूरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलालाई सँगै राखिएको थियो । लहान प्रहरीको हिरासतमा ठाउँ नपुगेपछि महिला प्रहरीसहित बैङ्किङ कसूरकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्ध बिग्रिएपछि सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतितर्फ एक छोरा भए पनि बाबुसँगै बसेकाले ठाकुरले दोस्रो विवाह गरेपछि पतिसँग कल्याणपुरमै बस्दै आएकी थिइन् । घरको कमजोर आर्थिक अवस्था र रोजगारी नहुँदा ठाकुर यसअघि पनि पटक–पटक चोरीको आरोपमा पक्राउ परेको प्रहरीको रेकर्डमा पाइएको छ ।