धरान / गत फागुन १६ र १७ गते बसेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकले प्रतिष्ठानको डाक्टर तथा शिक्षकहरुको अवकास समय थप गरे पछि कर्मचारी तथा नर्सहरुको समय नबढाएको भन्दैं सर्वोच्च अदालतमा रिट परेको छ ।
२० दिन अघि कर्मचारी कल्याण समाज तदर्थ समितिका संयोजक राजन कोइरालाले रिट दायर गरेका हुन । यस अघि चिकित्सक कर्मचारीको अवकास समय ६१ बर्ष कायम गरिएको थियो । तर फागुन १६ र १७ गते बसेको सिनेट बैठकले चिकित्सकहरुको समय बढाएर ६५ बर्ष कायम गरेको थियो । स्वास्थ्य मन्त्रालय र वीपी प्रतिष्ठानलाई विपक्षि बनाएर कोइरालाले रिट दायर गरेका हुन ।
सिनेटको निर्णय विभेदकारी भएको भन्दैं कर्मचारीहरुको पनि अवकास समय बढाएर ६५ बर्ष कायम गराउन रिट निवेदन दिएको उनले बताए । असार १० गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ ।

सोही सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई समेत बर्खास्त गर्ने निर्णय गरेको थियो । निर्णय त्रुटिपूर्ण भएको भन्दैं रौनियारले सर्बोच्चमा रिट दायर गरि स्टे अर्डर भएकाे थियाे । सो मुद्धा अझै फैसला भएको छैन् ।