यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा एकै घरमा बस्दै आइरहेका फुपू– भदैनीलाई गाउँपालिकाले घरनिकाला गरेको छ ।
गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ नेतृत्वको टोलीले उनीहरूलाई घरनिकाला गरेको हो । सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका गीतामाया सम्बाहाम्फे र विष्णुमाया लिम्बूलाई घरनिकाला गरिएको हो ।
सार्वजनिक जग्गामा गीतामायाले घर बनाएकी थिइन् । नाताले भदैनी पर्ने गीताले बनाएको घरमा फुपू विष्णुमाया पनि बस्दै आएकी थिइन् । गीताको श्रीमान्को केही वर्षअगाडि मृत्यु भइसकेको छ । श्रीमान्को मृत्युपछि फुपू विष्णुमाया भदैनीको घरमा गएर बस्न थालिन् । सँगै बस्दै आएका उनीहरूबीच घर र आर्थिक लेनदेनको विषयमा मनमुटाव हुनथाल्यो । झगडाले उग्ररूप लियो । प्रहरी र न्यायिक समितिमा उजुरी प¥यो तर विवाद मिल्न सकेन ।
पटक–पटक विवाद मिलाउन भएको पहल असफल भयो । उनीहरूको झगडा बढ्दै गएपछि कानूनीरूपमा गाउँपालिकाले निर्णय लिनुपरेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सीता आचार्यले बताइन् । उनीहरूको लेनदेनको विषयमा अदालतसम्म पुगेको र यस्तो अवस्थामा एउटै घरमा बस्दा जोखिम हुने भएकाले घर खाली गर्न ३५ दिने सूचना र पटक–पटक म्याद थप गर्दा पनि घर खाली नभएकाले जबरजस्ती निकालिएको आचार्यले बताइन् ।
घरनिकाला गरिएपछि विष्णुमाया आफू अन्यायमा परेको भन्दै जिल्ला सदरमुकाम पुगिन् । आफूहरूलाई षड्यन्त्रपूर्वक गाउँपालिकाले विस्थापित गरेको भन्दै सबैसँग हारगुहार गरिन् । घरनिकाला गरिएको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि गाउँपालिका अध्यक्ष चेम्जोङले आपत्ति जनाएका छन् । उनले भने, ‘वास्तविकता के हो ? को दोषी छ ? भन्ने विषयलाई अध्ययन नै नगरी समाचार आएको छ ।’
घटनालाई राजनीतिक रूप दिएकाले यसले कसैलाई भलो नगर्ने भन्दै अध्यक्ष चेम्जोङले आफ्नो कमी कमजोरी भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । अहिले विष्णुमाया र गीता बस्दै आएको घरमा गाउँपालिकाले ताला लगाएको छ । घरबाट निकालिएकी विष्णुमायाका सामान घरबाहिर छरपष्ट रहेका छन् । घरभित्र रहेका सामान बाहिर निकालेपछि उनले सामान जिम्मा बुझेकी छैनन् ।
उनले आफू बस्दै आएको घरबाट गाउँपालिकाले जबरजस्ती निकालेको आरोप लगाएकी छन् । घरभित्रका बहुमूल्य सामान बाहिर फालिदिएको र जिम्मा बुझ्न धम्की दिएको उनले बताएकी छन् । फुपू–भदैनीबीचमा आर्थिक पाटोको विवाद रहेको र न्यायिक समितिले मिलाउन नसक्ने भएपछि जिल्ला अदालतमा मुद्दा हालेको विष्णुमायाको दाबी छ । यता भदैनी गीताले भने आफ्नो श्रीमान्को निधनपछि फुपू विष्णुमायाले आफूलाई संरक्षण गर्ने बहानामा आफ्नो सम्पत्ति हातपार्न खोजेको आरोप लगाएकी छन् ।