ताप्लेजुङ/ समुद्र सतहबाट ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको नेपालको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोबाइल सेवा पुगेको छ । गत आइतबारबाट त्यहाँ मोबाइल सेवा सञ्चालनमा आएको हो ।

विकट हिमाली क्षेत्र ग्याब्ला, फले, घुन्सा खम्बाछेन हुँदै कञ्चनजङ्घा आधारशिविर, पाङ्पेमा बेसक्याम्पसम्म अब टेलिफोन सम्पर्क हुनेछ । सोही दिन घुन्सामा मोबाइलका १५ थान सिमसमेत वितरण गरिएको स्थानीय समाजसेवी मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । करिब ६२ घर परिवार रहेको सो गाउँमा सञ्चार सुविधापछि स्थानीय हर्षित भएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले बताए ।

यसअघि उपल्लो क्षेत्रका तापेथोक र लेलेपका बासिन्दालाई सहज हुनेगरी मोबाइल सेवा विस्तार भएको थियो । क्षेत्रफलका हिसाबले नेपालकै तेस्रो र प्रदेश नं. १ ठूलो मानिएको सो गाउँपालिकाका अधिकांश क्षेत्रका बस्ती दुर्गम स्थानमा छन् । जिल्लाको ढुङ्गेसाँघु, लिङ्खिम, महेले, निघुरादिन, सावा र तिरिङ्गेमा पनि मोबाइल टावर निर्माण भैरहेको छ ।

यसैबीच मोबाइल सेवा शुरु भएको एकसाता नहुँदै हिमाली गाउँ घुन्सामा वाईफाई इण्टरनेट सेवासमेत शुरु भएको छ । नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा मर्कण्टाइल प्रालिले बुधबार दिउँसोदेखि स्वास्थ्य संस्थामा वाईफाई जडान गरी सञ्चालनमा ल्याएको स्थानीय शेर्पाले बताए ।

शेर्पाका अनुसार गाउँका मानिसले बुधबार दिउँसो स्वास्थ्य चौकी भवनछेउमा भेला भएर इमेल, इण्टरनेट तथा सामाजिक सञ्जाल चलाएका थिए । ‘एकपछि अर्को सञ्चारको विकासले हामीलाई उत्साहित बनायो’ शेर्पाले भने, ‘अब हामी पनि सञ्चार सुविधामा जोडियौं, तर नियमितता भने हेर्न बाँकी नै छ ।’

पहिलो पटक मोबाइल सेवा र इन्टरनेट सेवा पुगेसँगै स्थानीयले साँझ भेला भएर रमाइलो गरेका छन् । मर्कण्टाइललाई यसै वर्ष सक्नेगरी दूरसञ्चार प्राधिकरणले ताप्लेजुङका सबै स्वास्थ्य संस्था, मावि, गाउँपालिका र वडामा इण्टरनेट सेवा सञ्चालनका लागि सरकारले जिम्मा दिएको छ ।