इटहरी/ ६ लेन सडक निर्माणमा दुहबीदेखि तरहरासम्म विजुलीका खम्बाहरू बाधक देखिएका छन् । नमूना व्यापारिक मार्ग निर्माणको काम ढिलो भइरहेको बेला विजुलीको पोल अझै बाधक बनेको छ ।
६ लेन सडकको बीच भागमा विजुलीका खम्बाहरूकै कारण काम गर्न असहज भइरहेको ठेकेदारहरू बताउँछन् । सडक विस्तार आयोजना र विद्युत् प्राधिकरणसम्मको खेलाँचीको कारण काममा ढिलाइ हुन पुगेको हो । इटहरीको सैनिक क्याम्पबाट तरहरातिर जाने बाटोको बीचमा पोल र तार धराप अवस्थामा भएको स्थानीय मनराज धामीले बताए । पोल लड्न आँटेको जस्तो देखिन्छ तर सम्बन्धित निकायले वास्ता नगर्दा आवत– जावत गर्नसमेत डरमर्दो देखिएको उनी बताउँछन् ।
ठेकेदार कम्पनीको मनपरी तथा अनुगमनको काम पनि फितलो भएको स्थानीयको बुझाइ छ । सडकका खम्बाहरूका कारण काममा ढिलाइ भइरहेको स्वयम् ६ लेन सडक आयोजनाका इञ्जिनियर उपेन्द्र दास बताउँछन् । ‘विजुलीको पोल हटाउने ठेकेदारको लापरबाहीले समस्या आएको हो’ –दासले भने । एकले अर्कोलाई आरोप लगाउने र आफू पन्छिने प्रवृत्तिका कारण निर्माणाधीन सडकको काम बेला–बेला विवादमा पर्दै आएको छ । विराटनगरको जोगवनीदेखि तरहरासम्मको बाटोमा विजुलीको खम्बा बाधक बन्दै आएको ६ लेन सडक आयोजनाले जनाएको छ ।
विराटनगरको जोगवनीदेखि तरहरासम्मको खम्बा व्यवस्थापनको जिम्मा आरके फिल्डर्स, केडिएस साहारा र दोभान बोहोरा एण्ड ब्रदर्सले लिएको थियो । ठेक्का लिएर काम नगर्दा समस्या आएको भन्दै केही दिनअघि जिल्ला प्रशासन कार्यालय मोरङले ठेकेदारलाई बोलाएको थियो ।
विद्युत् प्राधिकरण इटहरीका सुपरभाइजर रितेश झाले विजुलीको पोल हटाउने कार्य आफूहरूको नभएको बताए । बनाइसकेपछि तार जोड्ने काम भने आफूहरूले गर्ने बताए । झाले भने, ‘हाईवेमा भएका पोल सारेपछि मात्र हामी तार टाँग्ने र लाइन दिने काम गर्नेछौं ।’
सडक निमार्णले सास्ती
६ लेन सडक निर्माणले सडक आसपासका सर्वसाधारणहरूले दैनिक सास्ती बेहोर्नु परेको छ । निर्माण सामग्रीको धुलो धुवाँको कारण सडक आसपास नजिकका घरका सर्वसाधारणहरू समस्यामा परेका हुन् ।
इटहरी–१ आँपगाछीकी सुनिता दाहालले दैनिक धुलो घरमा छिर्दा समस्या भएको बताइन् । लामो समयदेखि सडक आसपास उडेको धुलो तथा निर्माण सामग्रीले समस्या पार्दै आएको बताइन् । ‘हामीले बिहान–बेलुका खाना खानसमेत समस्या हुँदै आएको छ’ –उनी भन्छिन् । हावाले धुलो घरभित्रसम्म ल्याइपुर्याउने गरेको उनको भनाइ छ ।
६ लेन सडक सुस्त
१० अर्ब ९८ करोड लागतमा निर्माणाधीन ६ लेन सडकको काम सुस्त भएको छ । सम्झौताअनुसार यही आर्थिक वर्षमा सक्नुपर्ने काम अहिलेसम्म आधा मात्र काम भएको छ । सुनसरीको दुहबी बजार खण्डमा मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध नगराइदिँदा निर्माणका लागि टेन्डर समेत लाग्न सकेको छैन ।
सरकारले ०३४ असार २० गते राजपत्रमा सडकको बीचबाट २५ मिटर दायाँ–बायाँ मापदण्ड कायम गरेको थियो तर ०५४ मा पुनः राजपत्रमा उक्त सडकको दुहबी बजार खण्डमा सडकको बीचबाट सवा आठ मिटर मापदण्ड कायम गरेकाले समस्या बढ्दै आएको छ । इटहरीको मुख्य चौकदेखि तरहरा तथा तरहराबाट धरानसम्म सडक निर्माणको काम पनि अघि बढ्न सकेको छैन ।
































