भद्रपुर/ सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घूस रकमसहित २ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार नगदसहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल तथा नायव सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

आयोगका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले प्रमुख मण्डल तथा नासु धिमालले विद्युत् तालिम सञ्चालन बापत सेवाग्राहीबाट कमिसनस्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका थिए । तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिसन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका आधारमा केही दिनयता टोलीले पछ्याइरहेको थियो ।

यसै क्रममा सोमबार बिहान ११ बजे खजुरगाछीमा सञ्चालन भइरहेको विद्युत् वायरिङ तालिम बापतको १ लाख नगद भुक्तानी लिन आएका सेवाग्राहीले रकमको चेक बुझ्नुअगाडि ३५ हजार प्रमुख मण्डल र नासु धिमाललाई बुझाएका थिए । सोही रकम बुझेको आधाघण्टाभित्र दुवै अख्तियारको फन्दामा परेका हुन् ।

पक्राउ परेका नासु धिमालले भने आफूलाई आफ्नै कार्यालयका कर्मचारी प्रशिक्षक दीर्घ धिमालले फसाएको आरोप लगाए । उनका अनुसार दीर्घले प्रशिक्षर्थीको खाजाभत्ता बापत बैङ्कबाट झिकेर ल्याएको एक हजार दरका ३५ हजार रकमलाई नै घूस बनाएर अख्तियार बोलाएको आरोप लागेको छ । पक्राउ परेका दुवैजनालाई टोलीले नियन्त्रणमा लिई नगदसहित मुचुल्का बनाएर इटहरी लगेको छ ।