भद्रपुर/ पशु क्वारेनटाइन विभागले भारतबाट हेल्थ प्रमाण–पत्रबिना आयातित मासुजन्य पदार्थमा रोक लगाएपछि झापामा विषेश गरि माछा तस्करी मौलाएको छ ।

सशस्त्र प्रहरीले शनिबार दिउँसो एकसय किलोभन्दा बढी भारतीय माछा बरामद गरेपछि यस्तो पुष्टि भएको हो । झापाका मुख्य भन्सार काँकडभिट्टा र भद्रपुरमा माछा नआएपछि अन्य केचना, गौरीगञ्ज र टाघनडुब्बा छोटी भन्सारबाट प्रहरी प्रशासनलाई खुशी पारेर माछा नेपाल भिœयाउन थालेका छन् ।

भद्रपुरमा रहेको पशु क्वारेनटाइनले चेकजाँचबिना नै वर्षौ यतादेखि माछा पठाउँदै आएको थियो । तर, गत फागुन महिनाबाट नेपाल सरकारले भारत पशु क्वारेनटाइनको समेत प्रमाण–पत्र माग गरेपछि माछा कारोबारी अतालिएका थिए । कारोबारीले अवैधरूपमा विभिन्न नाकाबाट माछा भित्र्याउन थालेको जानकारी आएपछि गण नम्बर २ बाट खटिएका प्रहरीले मेची नगरनगरपालिका १० धुलाबारीबाट शनिबार दिउँसो माछा बरामद गरिएको सशस्त्र प्रहरी गण २ का एसपी रेशमकुमार थक्सूले बताए ।

भारतले खानयोग्य छ भन्ने प्रमाण–पत्र आएपछि मात्र नेपालमा स्वीकृत गरिने पशु क्वारेनटाइन भद्रपुरका चिकित्सक डाक्टर रमेश घिमिरेले बताए । पशुस्वास्थ्य सेवा ऐेन २०५५ तथा नियमावली २०५६ मा व्यवस्था भए पनि २० वर्षपछि यो दफा लागू गरिएको घिमिरेको भनाइ छ । बरामद एकसय ३५ किलो विभिन्न जातका माछालाइ तत्काल भद्रपुर पशुक्वारेनटाइनको परिसरमा नष्ट गरिएको उनले बताए ।