धरान/आइतबार अपरान्ह काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा चार जनाको मृत्यु भएको छ । तीन जनाको पहिचान खुले पनि एक जनाको पहिचान खुल्न बाँकी छ ।
शुरुमा काठमाडौंको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा विस्फोट भएको थियो । जहाँ चारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । ६ जना घाइते बनेका छन् । त्यस्तै चन्द्रागिरीमा पनि कुकर बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । यी बम विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । घाइते हुनेहरू अधिकांस विप्लवका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
विस्फोटमध्ये बूढानीलकण्ठ–४ को सुकेधारा नजिकैको एक सैलुन पसलमा भएको विस्फोटमा पर्नेहरूको पहिचान खुलेको थियो । प्रहरीका अनुसार हाल कपन बस्दै आएका काभ्रेका हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन छन् । खड्काको घटनास्थलमै र महर्जनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकमध्ये महर्जनले आफूहरूले बम बनाउनका लागि सक्रिय रहेको उपचारको क्रममा प्रहरीलाई बयान दिएका थिए । त्यसक्रममा सैलुन सञ्चालक महोत्तरीका छोटे ठाकुर गम्भीर घाइते बनेका छन् । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत छन् ।
उनीसहित अर्का मृतक खड्का, शिव र लडाकू महावीरलगायत मिलेर बम बनाउनमा संलग्न भएका बेला विस्फोट भएको थियाे । अन्य दुई जना नयाँ सदस्यको भने पहिचान खुल्न नसेकेको प्रहरीले जनाएको छ । यता घट्टेकुलोको सङ्गम चोकमा मृत्यु भएको पनि पहिचान खुलेको छ । ठेगाना नखुलेका उनी विप्लवका विद्यार्थी नेता प्रज्वल शाही रहेको प्रहरीले पुष्टि गरेको छ । सो स्थानमा उनीसहित रुकुमको सानोभेरी गाउँपालिकाका रविन केसी घाइते बनेका थिए । उनको हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी विप्लव नेतृत्वको विद्यार्थी सङ्गठन त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रहेको प्रहरीले पुष्टि गरेको छ ।
विस्फोट भएका क्षेत्रमा विप्लवका पर्चाहरू फेला परेका थिए । जसमा ‘नेपाल बन्द सफल पारौं’ भन्ने नारासहितका पर्चा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । चन्द्रगिरी नगरपालिका–३ नाकढुङ्गास्थित इँटाभट्टा चोकमा भएको अर्को विस्फोटमा आकाश लामा घाइते भएको जनाइएको छ । प्रेसर कुकर बम ल्याउने क्रममा विस्फोट हुँदा लामा घाइते बनेका हुन् । उक्त विस्फोटमा थप एकजना घाइते भए पनि उनीको पहिचान खुल्न सकेको छैन ।
यसैबीच प्रहरीले कोटेश्वर, नरेफाँटबाट विप्लव समूहका ७ जना कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्लेलगायत रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट ४ थान कुकरसमेत बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै ललितपुरको लगनखेल र ग्वार्कोमा पनि बम फेला परेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रको बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
विप्लव समूहका एक नेता प्रहरी कारबाहीका क्रममा भोजपुरमा मारिएपछि त्यसैको विरुद्धमा सोमबार देशव्यापी बन्दको आह्वान गरेको थियो । भोजपुर षडानन्द नगरपालिकाका तीर्थराज घिमिरेको मृत्यु भएको थियो । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो । भोजपुरमा घिमिरेको मृत्यु भएलगत्तै विप्लवले सरकारले कार्यकर्ता हत्या गरेकाे भन्दै कडा जवाफ दिने चेतावनी दिएका थिए ।
गृहमन्त्रीकाे सुरक्षा निकायलाइ निर्देशन
गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आइतबार विभिन्न स्थानमा विस्फोटको क्रम बढेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बस्दै घटनाको सूक्ष्मरूपमा अध्ययन गर्न र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि सुरक्षा प्रमुखलाई निर्देशन दिएका हुन् ।