उदयपुर (ब्लाष्ट) जिल्ला अदालत उदयपुरले एक युवाको हत्या गरेको ठहर गर्दै तीन जनालाई जन्म कैदको सजाय फैसला सुनाएको छ ।
त्रियुगा नगरपालिका–१ जोगीदह धनगढी निवासी ३० वर्षीय सुशीलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका स्थानीय २५ वर्षीय सञ्चमाया तामाङ, उनका भिनाजु ३१ वर्षीय तिलकबहादुर तामाङ र काका ३७ वर्षीय शङ्करबहादुर तामाङलाई जन्मकैदको फैसला अदालतले सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले चौधरी हत्याको कसूर ठहर गर्दै यस्तो फैसला सुनाएका थिए । गत २०७५ असार २५ गते चौधरीको हत्या भएको थियो । मृतक परिवारको जाहेरीअनुसार उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रहरीले हत्यामा संलग्नको आशङ्कामा ८ जना पक्राउ गरी मुद्दा चलाएको भए पनि अदालतले कसूरदार तीनजनालाई साउन २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । बाँकी ५ जनामध्ये १३ वर्षीया धनमाया तामाङ, १८ वर्षीय सोममाया, १९ वर्षीया हीरामाया र १८ वर्षीया राजकुमारी तामाङलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

घटनामा मिलेमतो रहेकै आशङ्कामा पक्राउ परेका ३८ वर्षीय एकबहादुर तामाङलाई भने अदालतले सोही मितिमा साधारण तारेखमा रिहा गर्ने आदेश दिएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । । प्रहरीले तीन कसूरदारलाई असार २९ गते पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।