पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा चार परिवारका नौ जनाको कारुणिक संहारपछि आरुबोटेबासी शोकसँगै र त्रासमा बस्न बाध्य छन् ।

चारमध्ये दुई परिवारको वंश नै नाश हुने गरी भएको विभत्स हत्याकाण्ड प्रहरीको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । घटना भएको घरमध्ये मारिएका धनराज शेर्माको घरमा गत वैशाख ३० गते नुनमा सिसाको धुलो मिसाएको पाइएको थियो । शेर्माको घरमा तीन महिने ढाका बुनाई तालिम लिइरहेका महिलाहरूले खाजा खाँदा बिरामी परेपछि नुनमा हेर्दा सिसा भेटिएको थियो । उक्त घटनामा आठजना बिरामी परेका थिए भने दुईजना सिकिस्त नै बनेका थिए । उनीहरू सदरमुकामस्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा उपचारपछि निको भएका थिए ।

त्यतिबेलै परिवारको सामूहिक हत्या गर्ने उद्देश्यले नुनमा सिसा मिसाइएको स्थानीयको आशङ्का छ । प्रहरीसम्म पुगेको सिसा काण्डलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको स्थानीयको आरोप छ । त्यतिबेलै प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइएको भए यत्रो घटना नहुने स्थानीय मिक्सन खड्काले बताए । घटनामा मारिएकी धनराजकी श्रीमती जस्मिताले त्यतिबेला

अहिले प्रहरीले हत्याको आशङ्का गरेको ज्वाइँ मानबहादुर माखिमलाई नै शङ्का गरेको स्थानीय बताउँछन् ।
नुन काण्डलाई सूक्ष्म ढङ्गले छानबिन गर्नुपर्नेमा जनप्रतिनिधिहरूको रोहवरमा मिलाइएको स्थानीयले बताए । प्रहरीले शङ्का गरेको दोषी माखिम पनि मृत भेटिएपछि घटना रहस्यमय बनेको छ । सिसा काण्डमा नै शङ्का गरिएका उनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन नसक्नु प्रहरीको कमजोरी भएको स्थानीय बताउँछन् । प्रहरीले दोषी पत्ता लागिसकेको दाबी गरे पनि खुलाउन सकेको छैन ।
हत्याकाण्डपछि असुरक्षा महसुस गरिरहेका स्थानीयले भने घटनाबारे सत्य–तथ्य सार्वजनिक गर्न र आरुबोटेमा तत्काल अस्थायी प्रहरी पोष्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विद्यार्थी मारिएपछि सामुदायिक विद्यालयमा जिल्लाकै तेस्रो धेरै विद्यार्थी सङ्ख्या रहेको घटनास्थलछेउको आरुबोटे माविको पठन–पाठनसमेत प्रभावित बनेको शिक्षक किरण पौडेलले बताए । पाँचथर प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले स्थानीयमा शान्ति–सुरक्षा प्रत्याभूत गराउन आरुबोटेमा प्रहरी परिचालन गरिएको बताए । गाउँपालिका अध्यक्ष अमरराज माखिमले पनि प्रहरी(प्रशासनसँगको सहकार्यमा स्थानीयलाई सुरक्षित महसुस गराउन स्थानीय सरकार लागिपरेको बताए । हाल सामूहिक हत्या भएका दुवै घरलाई प्रहरीले सिल गरेर पहरा दिएको छ । हत्याकाण्डबारे थप अनुसन्धानमा प्रहरी निरन्तर लागिपरेको डिएसपी कुँवरले बताए ।

सोमबार रातिको घटनामा बमबहादुर फियाकको घरमा ७५ वर्षीय बमबहादुरसँगै उनकी श्रीमती ७५ वर्षीया पुर्सिमाया, कान्छी छोरी २६ वर्षीया मनकुमारी, माइली छोरीतर्फका नातिनी १० वर्षीया आशिका खजुम मारिएका थिए । उनकी दिदी १२ वर्षीया सीता भने भागेर बाँचेकी छन् । त्यस्तै बमबहादुरका माइला ज्वाइँ धनराज शेर्माको घरमा ३४ वर्षीय धनराजसँगै उनकी श्रीमती ३५ वर्षीया जस्मिता, छोरीहरू १२ वर्षीया युहाना, १० वर्षीया मुना र धनराजका भाइका छोरी ८ वर्षीया इक्साको हत्या भएको थियो । मृतक सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि बिहीबार दाहसंस्कार गरिएको छ ।