काँकडभिट्टा । मेचीनगरको धुलाबारीमा बुधबार राति घरभित्रै पसेर आमाछोरीमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राति आक्रमणकारीले धुलाबारीस्थित स्थानीय ४१ वर्षीया आरती चौहान (बुढाथोकी) र उनकी ७ वर्षीया छोरी अर्पणामाथि आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । धुलाबारीका दुई व्यक्तिलाई सिसी क्यामेराको फुटेजको आधार र आरतीलाई दिउँसो फोन गरेको आधारमा ती दुई व्यक्तिलाई बिहीबार राति प्रहरीले धुलाबारी बजारक्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

उनीहरूको नाम सार्वजनिक गर्दा अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ । प्रहरीका अनुसार आरतीले दिउँसो फोन गरेको सिग्नल ती व्यक्तिको घरको आसपास देखिएको छ । तर, त्यो मोबाइल अहिलेसम्म भेटिएको छैन ।
यस घटनालाई प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको र केही दिनभित्रमा सत्य–तथ्य कुरा सार्वजनिक गर्ने श्रेष्ठले बताए । श्रेष्ठको अनुसार सिसी क्यामेराको फुटेजका आधारमा कालो रङको मोटरसाइकललाई नियन्त्रणमा लिएको बताए । ती दुई व्यक्तिलाई म्याद थप गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।