काँकडभिट्टा/ केही दिनअघि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको घटना सेलाउन नपाउँदै झापामा एक परिवारमाथि सामूहिक हत्याको प्रयास भएको छ । 

झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा बस्दै आएकी ४१ वर्षीया आरती चौहान(बुढाथोकी) र उनकी ७ वर्षीया छोरी अर्पणामाथि मध्यरातमा सामूहिक हत्याको प्रयास भएको हो । 

बुधबार बेलुकी खाना खाएर आमा–छोरी एउटा कोठामा र सासू अर्को कोठामा सुतेकी थिइन् ।  ‘घरअगाडि ग्रील लगाइएको थियो । पानी परेको समय हुनाले बत्ती पनि थिएन’ घटनामा घाइते भएकी ७ वर्षीया अर्पणाले भनिन्, ‘म निदाएकी थिएँ, अचानक ममी कराउँदा ममीको छातीमा मानिस चढेको देखेँ ।’  

अर्पणाका अनुसार हातमा खुकुरी बोकेका दुई व्यक्तिले उनी चिच्याउन खोज्दा ‘चुप लागेर बस्’ भन्दै घाँटी समाते । उनले भनिन्, ‘कोठामा दुवै जना भेष्ट र हाफ् पाइन्टमा थिए । बोलिस् भने मारिदिन्छु भने ।’ ती खुकुरीधारीले आरतीको टाउकोमा प्रहार गरेपछि उनी बान्ता गर्न थालेको अर्पणाले बताइन् ।

अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासू थिइन् । रातको समयमा के भयो उनले थाहा पाइनन् । बिहान छोरी अर्पणाले गुहार मागेपछि मात्र घटना अरुले थाहा पाएका थिए । बाहिर मर्निङ वाकमा हिँडिरहेका स्थानीय दीपेन्द्र कन्दङ्वाले थाहा पाएपछि सो घरमा गएर हेर्दा बाहिरबाट चुक्कुल लागेको देखे । ढोका खोल्दा अचेत अवस्थामा आरतीलाई देखेको कन्दङ्वाले बताए । 

त्यसलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए । तर लामो समयसम्म प्रहरी आएन । स्थानीयवासी घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरती अर्धनग्न अवस्थामा बेहोस थिइन् भने उनको टाउकोबाट बगेको रगतले भूइँ रक्ताम्य थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । स्थानीयले उनलाई आम्दा अस्पताल लगेको  छिमेकी गोकुल हुमागाईंले बताए । आम्दा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो । 

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले अनुसन्धान अघि बढाएको बताए । घाइते आरतीलाई बिर्तामोड र अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ ।   

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार रातको समयमा भएको घटनाको प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ । उनका अनुसार घटनास्थलमा एउटा इँट्टा भेटिएको छ । सासूको कोठामा बाहिरबाट चुक्कुल लगाइएको थियो । उनले बालिकालाई सोधपुछ गरिराखेको र ती महिलाको चेत फर्किएपछि थप सोधपुछ गरी दोषी पत्ता लगाई कारबाही गर्ने बताए । घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।