भोजपुर । जिल्लाको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोत्रेमा सुरक्षाकर्मी सँगको दोहोरो गोली हानााहनका क्रममा घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ ।
गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि रिफर गरिएका उनलाई मंगलबारै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचपारको लागि लगिएको थियो ।
हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसक्ने भएपछि उनलाई समयमा उपचारमा पु¥याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । बुधबार विहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको मृत्यु भएको हो । घाइते घिमिरेको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।
केहिदिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलीले सो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले एक थान पेस्तोल ५ राउण्ड गोली, बायनाकुलर, प्रचार प्रसारका सामग्री समेत बरामद गरिएको प्रहरीले बताएको छ ।