धरान/ छोरो जन्मिएपछि सङ्खुवासभा चैनपुर–६ का धनबहादुर बयलकोटी र कमला बयलकोटी परिवारमा खुशी छायो । घरपरिवार, आफ्ना आफन्तसँग पनि खुशी बाँडे ।

छोरो जति हुर्किदै गयो, बयलकोटी परिवारमा खुशीयाली दिन प्रतिदिन बढ्दै गयो । जब छोराले एक, दुई, तीन वर्ष गर्दै जब ६ वर्षमा टेक्न लाग्यो तब बुढेसकालको सहारा छोरो सागर बयलकोटी अचानक बिरामी पर्यो । एक्लो छोरो बिरामी परेपछि उनले ऋणपान गरेरै अस्पताल पु¥याए । शुरुमा सामान्य बिरामी देखिएका छोरा अस्पतालमा पुर्याएपछि भने दुवै मिर्गौला र मुटुमा पनि समस्या देखियो । त्यसपछि उनीहरूको खुशी दुःखमा परिणत हुँदै गयो ।

हाल ७ वर्षका सागरलाई १४ महिनाअगाडि देखिएको यो समस्या निको हुने छाँटकाँट देखिएको छैन । छोराको उपचारमा लाखौं खर्च भए पनि ठीक नभएपछि धनबहादुरले आत्महत्या गर्न पुगे । तर, कमला छोराको मुहार हेर्दै बाँचिरहेकी छन् । छोरालाई बचाउन हारगुहार गरिरहेकी छन् । आर्थिक अवस्था न्यून भएकी उनी अहिले सहयोगको याचना गरिरहेकी छन् । छोराको उपचारमा दैनिक हजारौं रुपैयाँ खर्च हुन्छ । त्यो रकम जोहो गर्न उनी सकिरहेकी छैनन् । बयलकोटी परिवार ऋणमा मात्रै डुबेको छैन, छोरा बचाउन सकिएला कि नसकिएला भन्ने चिन्तामा पनि छ ।

अहिले उनी दाताको खोजीमा हिँडिरहेकी छन् । भएको पुख्र्यौली सम्पत्ति पनि त्यही छोराको उपचारमा सकियो । घरबारविहीन कमला छोरा सागरलाई लिएर अहिले धरानमा छिन् । आइतबार सागरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा वार्डमा भर्ना गरिएको छ । केही दाताबाट पाएको सहयोगले उपचार गराइरहेका छन् । त्यो रकम पनि अहिले सकिएको कमला बताउँछिन् ।

शुरुवाती क्षणमा उनले काठमाडौं आफन्तको घरमा बसेर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइन् । गाउँघरका छिमेकीको सहयोगले केही समय उपचार गराइन् । तर, पैसा सकिएपछि अस्पतालले पनि डिस्चार्ज गरिदियो । त्यहाँ ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनी बताउँछिन् । छोराको समस्या ज्यूँका त्यूँ नै छ । आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि गत पुषमा धनबहादुरले प्राण त्यागेका थिए । कमलालाई दोहोरो पीडा छ । एकातिर श्रीमान् गुमाएको पीडा त छँदैछ, अर्कोतिर छोराको भरपर्दो उपचार गराउन नसक्दा ‘इन्तु न चिन्तु’ भएकी छन् ।

‘छोरो ठीक भइदिए त मलाई राहत नै हुन्थ्यो’ –श्रीमान् गुमाएकी उनी भन्छिन् । खर्च अभावकै कारण चिकित्सकले भनेको समयमा उपचारमा जान सकिनन् । त्यही कारण छोराको रोग बल्झियो । घरबारविहीन उनी हाल धरान–२ स्थित गीता मन्दिरमा आश्रय लिइरहेकी छन् । धरान–सङ्खुवासभा सरोकार समाजले उनलाई केही मलहम लगाउने प्रयास गरेको छ । हालै गठित समाजले केही आर्थिक सहयोग गरेको छ ।

समाजले पटक–पटक गरेर ३५ हजार ९ सय रुपैयाँ सहयोग गरेको समाजकी सल्लाहकार शीला बज्राचार्यले बताइन् । उनका अनुसार हाल समाजले नै प्रतिष्ठानमा निःशुल्क उपचारका लागि पहल गरिरहेको छ । बालरोग विशेषज्ञ डा. अरुण सिंहले सागरलाई सहयोग गर्न आफू तत्पर रहेको खुलाए । कमला पनि त्यही चाहन्छिन् । सागरको उपचार भइदिए उनलाई श्रीमान् गुमाएको पीडा भुलाउन सहज हुन्थ्यो कि ?