भण्टावारी/ वैशाख २२ गते सुनसरीको इनरुवा–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा मूलगेटको ताला तोडफोड गरी चोरी भयो । चोरहरूले विद्यालयको मूलगेटको ताला फुटाई कम्प्युटर र लेखापाल कक्षमा रहेका विभिन्न समानहरू चोरी गरेको भन्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर आयो ।
२५ गते बुधबार राति डेढ बजेको समयमा इनरुवा नगरपालिका–१ स्थित टेम्पो स्टेण्डमा रहेको चाँदनी आधारभूत विद्यालयको कार्यालय कोठामा तोडफोड गरी सामानहरू चोरी गरी आगजनीसमेत गरेको भनी अर्को खबर प्रहरीमा आयो । जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगर क्षेत्रमा ३ दिनको अन्तरालमा दुईवटा चोरीका घटना हुनुले प्रहरीको सुरक्षामाथि प्रश्न खडा भयो ।
माथि उल्लिखित दुवै चोरीका घटनापछि स्थानीयबासीले प्रहरीलाई दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा ७ जना किशोरलाई पक्राउ ग¥यो । पक्राउ परेकाहरू १५ देखि १७ वर्ष उमेरसम्मका रहेका छन् । तिनीहरू सातैजना इनरुवा नगरपालिका र गढी गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
समूह बनाएर चोरी गर्ने गरेको सूचनाको आधारमा तिनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विभिन्न सामान चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एलसिडी १ थान, साउण्ड बक्स र माइक्रो फोन २ थान, पेचकससहित बक्स १ थान, दाउ र चक्कु २ थान, टर्च लाइट २ थानसहित चोरी गरिएका विभिन्न २२ वटा सामानहरू बरामद गरेको छ ।
जिल्ला अदालत इनरुवा सुनसरीबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा चोरीका घटना बढेको छ । सुनसरीमा चालू आर्थिक वर्ष ०७५÷७६ को हालसम्म १ सय २९ वटा चोरीका घटना भएका छन् भने आर्थिक वर्ष ०७४-७५ र ०७३-७४ मा समान ८२ वटा चोरी घटना भएको प्रहरीको तथ्याङ्क रहेकोे छ ।
यता सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले प्रहरीले कारबाही बढाएकोले चोरी गर्ने गिरोह धमाधम पक्राउ पर्न थालेको बताए । उनले भने पहिला पनि चोरीका घटनाहरू हुन्थे तर चोरहरू पक्राउ पर्दैनथे । प्रहरीले कारबाही बढाएको हुँदा चोरीका घटना सार्वजनिक हुने क्रम बढेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । यो वर्ष जिल्लाका विभिन्न स्थान बाट मोटरसाइकल चोरीमा संग्लन ६ वटा समूह लाई पक्राउ गरी कानूनी कारबाही गरिएको एसपी अधिकारीले बताए । गलत संस्कार र अभिभावकको गैरजिम्मेवारीपनको कारण पढ्ने–लेख्ने उमेरका बालकहरू चोरीमा संलग्न हुने गरेको उनले बताए ।