विराटनगर/ नेपाल र भारतको सीमा नाकाछेउमा रहेको मोरङको धनपालथान गाउँपालिका–२ खैरबोनामा ‘काँटा’ (गोला) राखेर  धानको तस्करी हुने गरेको छ । 
 
Taskari-ko-Dhan-ko-track-
नेपालको बजार भाउभन्दा भारत, विहारमा धानको भाउ सस्तो हुनाले भारतबाट नेपालमा धानको तस्करी हुने गरेको हो । सीमावर्ती नेपाली बजारमा भारतीय धानको चोरी तस्करी बढ्दै गएपछि किसानहरू मर्कामा परेका छन् । विशेषगरी सोना मन्सुली, कान्छी मन्सुली र जिरा मन्सुली धानको व्यापक तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् । सोना मन्सुली धानको विराटनगर आसपासमा प्रतिक्विण्टल २८ सयको दरमा खरिद भइरहेको छ भने त्यही धान विहारको सिक्टामा २३ सय रुपैयाँमा पाइन्छ । 
 
क्विण्टलमा ५ सय रुपैयाँ सस्तो भएकोले भारतबाट धनपालथानको खैरबोनीमा काँटा  सञ्चालन गरेर बसेका व्यापारीहरूले तस्करसँग मिलेर रातको समयमा भारतबाट भन्सार छलेर धान भित्र्याउने गरेको स्रोतको दाबी छ । नेपाल–भारत सीमानजिक नेपालतर्फ धनपालथानको खैरबोनीमा आधा दर्जन व्यापारीले धानको काँटा सञ्चालन गरेका छन् ।
 
जयप्रकास साह, उमेश साह, देवनारायण मण्डल, उचितलाल साह र सर्वण साहले बोर्डरछेउमा धानको काँटा खोलेका हुन् । भारत घर भएका गैडला मण्डलले पनि नेपाली भूमिमा आएर धानको काँटा राखेको खुलेको छ । उनले धनपालथानका स्थानीय देवनारायण मण्डलको नाममा काँटा राखेर व्यवसाय सञ्चालन गरेको पाइएको हो । धनपालथान–३ मायागञ्जस्थित छोटी भन्सारदेखि पूर्व करिब ३ किलोमिटर खैरबोनीबाट दिनहुँ ट्याक्टर र साइकलमा धान नेपाल भित्रिन थालेको धनपालथानका  बासिन्दाले बताए । 
 
उनका अनुसार भारतबाट ट्याक्टर र हलुका सवारी साधनमा रातिको समयमा धान सीमावर्ती खैरबोनीमा रहेको काँटामा ल्याएर सङ्कलन गरी भोलिपल्टै नेपाली बजारमा पुर्याइन्छ । खैरबोनीमा सङ्कलन भएको धान विराटनगरसहित पूर्वका विभिन्न ठाउँका  राइस मिलहरूमा जाने गरेको छ । 
 
भारतबाट नेपालमा धान तस्करी गर्ने गिरोह नै सक्रिय छन् । उनीहरूको काम भारतबाट धान ट्याक्टर र साइकलमा बोकी सीमा कटाउने हो । तस्करीको धान पूर्वको ठूला शहरका राइस मिलहरूमा बिक्री वितरण गरी तस्करहरूले मोटो रकम कमाउने गरेका छन् ।
 
यसरी भारतीय धान नेपालको बजारमा तस्करीको बाटो आउँदा स्वदेशी किसान मर्कामा पर्ने परेका छन् । उनीहरूले सञ्चित गरी राखेको धानको उचित मूल्य नपाउँदा सस्तो भाउमा बेच्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् । किसानहरूले कुनै वर्ष पनि तीन हजारभन्दा बढी दाममा धान बेच्न पाएका छैनन् । भारतीय तस्करीको धानका कारण नेपाली किसानहरू मारमा परेका छन् । 
 
तस्करीमा छोटी भन्सार मायागञ्ज, खैरबोना, नोचालगायतको नाका प्रयोग गर्ने गरेको पाइएको छ । धान तस्करहरूले धान ओसार–पसार गर्ने नाका आसपास नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीका बिओपी भए पनि यसविरुद्ध कुनै कदम नचलाएको स्थानीयको आरोप छ । धान तस्करी भएर आउने मुख्य नाकाछेउ खैरबोनामा असइको कमाण्डमा अमाही वरियाती प्रहरी चौकी रहेको छ भने धनपालथान–३ मायागञ्जमा इन्स्पेक्टरको नेतृत्वमा सशस्त्र प्रहरी बल (बिओपी) रहेको छ । 
 
वर्षौंदेखि सीमाछेउमा धानको काँटा व्यवसाय सञ्चालन गरेर बसेका जयप्रकाश साहले कानूनी प्रक्रिया पूरा गरेर आफूले व्यवसाय सञ्चालन गरेको  बताए । उनले भने, ‘हामीले स्थानीय कृषकहरूले ल्याएको धान खरिद गर्दै आएका छौं ।’ भारतबाट अवैधरूपमा ल्याउने नगरेको उनको दाबी छ । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भन्सार नाका र चोरी तस्करी हुने अन्य बोर्डर एरियाहरूमा प्रहरीले कडाइ गरेको बताए । प्रहरीले एक महिनाअगाडि खैरबोनामा तस्करी गरेर ल्याएको धान बरामद गरेको थियो । बरामद गरेको धान खैरबोनामा धानको काँटा व्यवसाय सञ्चालन गरेर बसेका व्यापारीहरूको थियो ।