विराटनगर । अवैध लागूऔषध ‘खैरो हेरोइन’ स्कार्पियो गाडीमा राखेर भारतर्फ लैजाने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ धनपालथान गाउँपालिका –३ स्थित वेतौनाबाट प्रहरीले गाडीका चालक भारत कुर्साकांटा पडरिया डहुआवाडीका ३६ को सन्तोष कुमार मण्डललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
खुल्ला सिमाको फाइदा उठाउँदै ग्रामिण क्षेत्रको बस्तीबाट धनपालथानको वेतौनाबाट भारत तर्फ जाँदै गरेको डिएल ७ एम ०१७६ नम्बरको सेतो रंङको भारतीय स्कार्पियो गाडीबाट अवैध खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र अप्रचौ बेतौनाबाट खटिएको प्रहरी टोलीले सो गाडी रोकी चेक जाँच गर्ने क्रममा गाडीको भित्र भागको वाया साईडको सिटको पछाडी खैरो हेरोइन राखेका थिए । ‘प्रहरीले शंका लागेर भित्री नाकाको कच्ची सडक प्रयोग गर्दै भारतर्फ जाँदै गरेको गाडी चेक गरेको थियो,’ डिएपी श्रेष्ठले भने, ‘सेतो रंङको प्लाष्टिकको झोला भित्र सिलाई गरी भित्र पट्टी प्लाष्टिकमा प्याक गरेको खैरो हेरोइन बरामद गरेको हो ।’ प्रहरीले बरामद गरेको खैरो हेरोइन १ सय ६६.६५० ग्राम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको मण्डललाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।