विराटनगर । पछिल्लो समय मोरङको उत्तरी क्षेत्रमा रहेको चुरेक्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल लेटाङ नगर महासङ्घले मोरङको लेटाङ नगरपालिका–१ मा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उनीहरूले चुरेक्षेत्रको संरक्षणको लागि राज्यले स्थानीय उपभोक्ताहरूलाई प्रोत्साहन नगरे संरक्षण हुन नसक्ने उनीहरूले बताए । कार्यक्रममा बोल्दै लेटाङ–१ का वडाअध्यक्ष विष्णुकुमार मगरले चुरेको संरक्षण गर्न सबै लागिपर्नुपर्नेमा जोड दिए । ‘चुरे क्षेत्रको संरक्षण गरे पनि स्थानीय उपभोक्ताहरूले केही पाउन सकेका छैनन्’ उनले भने, ‘जसले गर्दा पनि यसको संरक्षण हुन नसकेको हो ।’ राज्यले चुरे क्षेत्रको संरक्षणमा विशेष योजना अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा केराबारी गाउँपालिका–९ का वडा अध्यक्ष भूपतिन्द्र मल्लले वर्षौंदेखि सामुदायिक वन स्थानीय उपभोक्ताहरूले संरक्षण गरेको हुनाले यहाँको सामुदायिक वन समुदायमा हस्तान्तरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ लेटाङ नगर महासङ्घका अध्यक्ष आनन्द सागर तिम्सिनाले जिल्लामा १ सय ३३ वटा सामुदायिक वन रहेकोले यसको संरक्षणमा स्थानीय जनता लागिपरेको बताए ।

मोरङको लेटाङमा मात्र ३८ वटा सामुदायिक वन रहेको जानकारी दिँदै उनले व्यापक रूपमा महासङ्घले सचेतना अभियानको थालनी गरेको जानकारी दिए । हालसम्म ९ वटा सामुदायिक वनमा सामुदायिक वनको बारेमा जानकारी गराउँदै सचेतना फैलाउने जागरण अभियान शुरु गरिसकेको उनले बताए ।

आइतबार लेटाङ–१ मा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र कार्यसमिति सदस्यहरूलाई एक दिने प्रशिक्षण दिएको अध्यक्ष ललितकुमार तामाङले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा १ सय बढीको सहभागिता रहेको बताए ।
सोही अवसरमा पत्रकार कौसल निरौलालाई नगद १० हजार १ सय १ रुपैयाँ र कदर पत्रले जलकन्या सामुदायिक वन उपभोक्ता समूहले पुरस्कृत गरेको थियो ।