भद्रपुर / सडक निर्माणमा लगाउन उत्खनन् गरिएका ढुङ्गा–गिट्टी हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा बिक्रीका लागि अन्यत्रै थुपारेको फेला परेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक डम्बरबहादुर गिरीले अनुगमन गर्दा हल्दीबारी गाउँपालिका–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलको नेतृत्वमा हल्दीबारी– १ मा रहेको निर्माणाधीन सापटी पुल नजिकैको प्लटिङमा र वडा कार्यालयछेउमा थुपारेको फेला परेपछि घटना सार्वजनिक भएको हो । दुई स्थानमा अनुमानित ३ सय टिपर ढुङ्गा–गिट्टी रहेको स्थानीयले बताए । देवनिया खोलाबाट ठेकेदार वीरबल योङ्हाङ र कुमार कार्कीले जेसिभी लगाएर ढुङ्गा–गिट्टी उत्खनन् गरेका थिए । जम्मा गरेका सामग्री खोला बन्दको समयमा बिक्री गर्ने उद्देश्यले अन्यत्र राखिएको स्थानीयले आशङ्का गरेका छन् ।
प्राकृतिक सम्पदा जगेर्ना गर्ने उद्देश्यले असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन् गर्न नपाइने भएकोले गाउँपालिका क्षेत्रभित्र सडक स्तरोन्नति गर्नका लागि गाउँसभाले खोला ठेक्का नलगाई स्थानीय खोला नै प्रयोग गर्ने निर्णय गरेको थियो । वैधानिकताका लागि वातावरणीय परीक्षण(आईईई) समेत स्वीकृत भएको थियो । गाउँपालिका क्षेत्रभित्र प्रयोग गर्नेगरी ५ वटै वडाबाट अध्यक्ष सापकोटा संयोजक, भौतिक पूर्वाधार समितिका संयोजक पोर्तेल सचिव, प्राविधिक र वडाअध्यक्षसमेत सदस्य रहने गरी कार्यपालिका बैठकबाट ग्राभेल व्यवस्थापन समिति गठन भएको थियो । गठित समितिले खोलाबाट उत्खनन् गरिएको सामग्री गाउँपालिका क्षेत्रभित्र रहेका सडकमा लगाउनु पर्ने जिम्मेवारी पाएको थियो । खोलाबाट उठाएको सामग्री २ र ३ नम्बर वडाका केही सडकमा लगाइरहेपनि अन्य वडाका सडकमा नलगाई ठेकेदारले थुपारेको जिल्ला प्रशासन, स्थानीय, भेलागढी सामुदायिक वनलगायतबाट गुनासो आएपछि अनुगमन गरिँदा अन्यत्रै थुपारेको पाइएको हो । उत्खनन् पनि लापरबाही तरिकाले गरेको, खोला तटबन्ध गरेको जाली पनि बिगारेको पाइएको छ । खोलाबाट टिपरलाई पछ्याउँदै जाँदा स्थानीय ठेकेदारले सामग्री थुपारेको फेला पारेको गिरीले बताए । संयोजक सापकोटाकै वडामा चाहिँ एक टिपर पनि सामग्री सडकमा नहालेको फेला पारेको उनले बताए । १ नम्बर वडामा ग्राभेल गर्न भन्दै ठेकेदारले डम्पिङ गरेर राखेको पाइएको उनको भनाइ छ । घटनापछि तत्काल कानून विपरीत भएकोले खोलाबाट जेसिभी र टिपर हटाएको उनले बताए । गाउँपालिकाबाट राजस्व उठाउन खोला पठाएको व्यक्तिलाई समेत सापकोटा र पोर्तेलले राजस्व उठाउन नदिएको उनको भनाइ छ । राजस्व पनि काट्न नदिने र ठेकेदारले डम्पिङ् गरेर राख्नुमा केही गडबडी देखिएको उनले जनाए ।
खोला बन्द भएको समयमा जहाँ–जहाँ स्तरोन्नति गरिनु पर्ने हो सोही ठाउँमा सामग्री थुपार्नु पर्नेमा सो नगरिएको फेला परेको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । घटना सार्वजनिक भएकोले यो विषयमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । गोलधापमा रहेको तीनओटा सडकमा लगाउनु पर्ने ग्राभेल पानी परेका कारण लगाउन नसकिएको भन्दै सामग्री जम्मा गरेको ठेकेदारले जवाफ दिएको संयोजक सापकोटाले बताए । जम्मा गरेको सामग्रीलाई तत्काल सडकमा लगाउन निर्देशन दिइसकेको उनको भनाइ छ । ठेकेदारसँग कुनै मिलोमतो नभएको उनले दाबी गरे ।