धरान । धरान–१५ बुढासुब्बा चोक नजिकै एक सिटी सफारी आफैं अनियन्त्रित भई भेनमा ठक्कर खान पुग्दा सफारी चालक र यात्रु घाइते बनेका छन् ।
शुक्रबार अपरान्ह करिब १ बजेतिर को १ ह ४९१९ नम्बरको सफारी अनियन्त्रित भई को १ च ८१४० नम्बरको भेनमा ठोक्किन पुग्दा चालक र यात्रु घाइते बनेका हुन् । चालक टेकबहादुर कन्दङ्वा र सफारीका यात्रु धरान–५ देउरालीका धनप्रसाद लावती घाइते बनेका हुन् । उनीहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घाइते दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । सफारी र भेन प्रहरीले नियन्त्रणमा लिएको छ ।