जिरोपोइन्ट । धरानमा यही वैशाख २१ गते “गीतकार रमेश चक्रद्वारा रचित गीतहरूको एकल सांगितिक साँझ” हुने भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको रेल्वे टोल विकास संस्थाको आयोजनामा हुने उक्त एकल सांगीतिक साँझमा कलाकार दीपक दर्नाल, मेरी शाक्य, भिषण अधिकारी, अनिल घिमिरे लगायतका कलाकारहरूको प्रस्तुति रहने टोल विकास संस्थाका अध्यक्ष एवम् गीतकार रमेश चक्रले बताएका छन् ।

करिब दुई लाख लागत लाग्ने उक्त एकल सांगितिक साँझमा प्रवेश निःशुल्क रहेको छ । कार्यक्रममा रमेश चक्रले वि.सं. २०५० सालदेखि २०६० सालसम्म लेखेका १५ वटासम्म गीत प्रस्तुत हुने बताइएको छ ।

निषाद संगीत धरानको सांगीतिक सम्योजनमा उक्त कार्यक्रम धरान १७ मा रहेको उदय सामुदायिक भवनको सभाहलमा साझ ५ बजेबाट सुरु हुने बताइएको छ । गीतकार चक्रले कार्यक्रममार्फत नयाँ रचनालाई स्वर र संगीत प्रदान गरिने बताएका छन् । उनले अबको दिनमा हरेक ६ महिनामा एक कार्यक्रम गर्ने सोच बनाएको समेत जानकारी गराएका छन् ।