मिकाइल आलम । इनरुवा 

सशस्त्र प्रहरीले लागूऔषध सहित सुनसरीको भाण्टावारी बाट एकजना लाई पक्राउ गरेको छ । कम्मरमा ठुलो परिणाममा लागूऔषध लुकाएर स्कूटीमा आउँदै गर्दा सीमामा तैनाथ सशस्त्र प्रहरीले चेकजाँचको क्रममा इटहरी उपमहानगरपालिका ४ आइतबारे बस्ने भरत भनिने ३५ वर्षका भरिमान राईलाई पक्राउ गरिएको हो ।

बुधबार भारतीय बजार भिमनगरबाट लागूऔषध सहित लट खुल्न नसकेको ४६२६ नम्बरको स्कुटीमा सवार भरिमान लाई कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तीनकुने नाका बाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

सशस्त्र प्रहरी निरीक्षक भण्डारीका अनुसार भरिमानको साथबाट स्पास्मो ट्याबलेट १ सय ९२ पीस, नाईट्रोजन १ सय पीस र कोरेक्स २२ बोतल फेला परेको हो । भरिमान लाई चेकजाँच गर्न थालेपछि स्कुटी चालक धरान १० बस्ने राजु बस्नेत भने भागेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । उनको बारेमा खोजतलास जारी रहेको र मुचुल्का उठाई भरिमान लाई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भाण्टावारीले जनाएको छ ।

विगत एक वर्षयता खासगरी सुनसरीको भाण्टावारी नाकाबाट लागूऔषध सेवनकर्ता तथा लागूऔषध कारोबार बढेको देखिन्छ । नेपाल सीमा सशस्त्र बल भाण्टावरीले पछिल्लो ८ महिनायता ठुलो परिणाम लागूऔषध सहित कारोबारमा संल्गन ८ जनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक भण्डारीले ८ जना लागूऔषध कारोबारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीको सहयोगमा मुद्दा चलाइएको बताए ।

बिओपी भाण्टावारीको तथ्यांकअनुसार उनीहरूको साथबाट २१३६ पीस क्याप्सुल, २२२ पीस नाइट्रोजन ट्याब्लेट, ९ पीस फेनरागन, ११ पीस डाईजापान, ९ पीस लुपिजोसिक एम्पुल, ३० बोतल कोरेक्स, २ पीस सिरिज बरामद भएको हो । जबकि आर्थिकवर्ष ०७३र ०७४ मा ३ जनालाई लागूऔषध सहित नियन्त्रण लिएको थियो भने ०७४र ०७५ सालमा जम्मा ६ जनामाथि लागूऔषध कारोबार ऐन अनुसार मुद्दा चलाइएको तथ्यांक रहेको भण्डारीले बताए ।

सुनसरीको धरान,इटहरी,इनरुवा, झुम्का, सप्तरीको फत्तेपुर,कंचनपुर तथा उदयपुर जिल्लाबाट कुलतमा फसेका नेपाली युवा दैनिक भारतीय बजार भिमनगर,बीरपुर, फुलकहा सहितका स्थानमा पुगेर लागूऔषध सेवन गरेर फर्किने गरेका छन् ।

बेलाबखत हुने नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकमा लागूऔषधको तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएपनि समस्या समाधान भने हुन सकेको छैन । यस नाका बाट १९ वर्षमुनिका किशोरदेखि ४५ वर्ष सम्म व्यक्ति लागूऔषध सेवनका लागि भारतीय बजार जाने गरेका छन् । जसका कारण लागूपदार्थ ओसारपसार तथा बिक्रीवितरण समेत बढेको पाईन्छ । खुला सीमाका कारण लागूऔषध सहजै पाउने भएकाले प्रयोगकर्ताको संख्या बढेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीको कथन छ ।