जनकपुर । जनकपुरधाममा नेपाल पत्रकार महासंघ प्रदेश समिति २ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यवद्धता र्याली निकालेको छ । जनकपुरको जानकी मन्दिरबाट सुरु भएका र्याली रेल्वे स्टेसनका पुगेर कोण सभामा परिणत भएको थियो ।

रेल्वे स्टेसन आयोजित कोणसभालाई सम्बोधन गर्दै अधिकांश वक्ताहरूले प्रेस स्वनन्त्रताका विषयमा गम्भीर हुन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
प्रेस काउन्सिलका सदस्य नवल यादवले सरकारले सञ्चारकर्मीलाई स्वतन्त्र भएर काम गर्न नदिएको आरोप लगाए । यस विषयमा संघीय सरकार भन्दा प्रदेश सरकार अझै अगाडि रहेको उनको भनाइ थियो ।

उनले सञ्चारकर्मी एकजुट हुन नसकेकोले यस्तो परिस्थिति आएको जिकिर गर्दै प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि एक हुन सबै सबै सञ्चारकर्मीलाई आग्रह गरे । समितिका माहसचिव किरण कर्णले भने विद्युतीय कारोबार ऐन र धारा प्रयोग गर्दै सरकारले सञ्चारकर्मीमाथि धरपकड सुरु गरेको प्रति भर्त्सना गर्दै सरकारलाई संचारमैत्री बन्न आग्रह गरे ।

वरिष्ठ पत्रकार रामभरोश कापडीले तथ्यका आधारमा निष्पक्ष समाचार लेख्ने पत्रकारमाथि धरपकड नगर्न चेतावनी दिए । सत्य तथ्य लेख्ने एउटा कलम बन्द गरिए हजारौँ कलम जन्मिने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारको हक हितकालागि सबै सञ्चारकर्मी एक भएर अगाडि बढ्ने बेला आएको बताए ।

लेखक तथा साहित्यकार रोशन जनकपुरले संच्चारकर्मीले आफ्नै बारे कलम चलाउने अवस्था आएको बताए । सञ्चारकर्मीलाई सरकारले सधैँ शत्रुको व्यवहार गर्ने गरेको स्मरण गर्दै उनले यसको विरुद्ध सञ्चारकर्मी स्वयंले अभियान चलाउनुपर्ने धारणा राखे । जनकपुरको जानकी मन्दिरबाट सुरु भएको पत्रकार हरूका ¥याली जनक चोक, शिव चोक, भानु चोक हुँदै रेल्वे स्टेसन पुगेको थियो ।