ताप्लेजुङ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको महावीर जङ्गलमा मानव कङ्काल फेला परेको छ । पुरुषको जस्तो देखिने मानव कङ्काल फेला परेको ताप्लेजुङ प्रहरीले जानकारी दियो । मानव अस्थिपञ्जर (हड्डी) मात्र यत्रतत्र छरिएको अवस्थामा रहेको स्थानियले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई मानव कङ्काल सदरमुकाम ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताए । डीएसपी थापाका अनुसार कङ्काल हाल जिल्ला अस्पतालको शवगृहमा रहेको र अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् ।
अस्थिपञ्जर मात्र रहेको शवको पहिचान गर्नलाई कठिन भएकाले निलो रङ्गको जिन्स पाइन्ट, निलै रङ्गको टिसर्ट र गोल्डस्टार जुत्ता भएको आधारमा हुलिया दिई स्थानीय सञ्चारमाध्यमहरु मार्फत सुचना प्रशारण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कोहि मानिसको बेवारिसे शव वा कंकाल भेटिए सात दिनसम्म सार्वजनिक सूचना प्रवाह गरेर पहिचानको प्रयास गर्ने र आफन्त फेला नपरे कानुनी प्रक्रिया पुर्याएर अन्त्येष्टि गर्ने व्यवस्था छ ।