धनकुटा / धनकुटा नगरपालिका वडा नं.१ बोक्रेवरबोटे टोलका ३५ घरधुरी स्थानीयले आफूहरूले वर्षौंदेखि नियमित रूपमा उपभोग गरिरहेको खानेपानी मुहानको सिरानमा डिप बोरिङ गरेको कारण मुहान सुकेको भन्दै वडा कार्यालयमा गुनासो गरेका छन् ।
खानेपानीको समस्या झेल्दै आएका हिले बजारबासीले धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा जमिनमुनीको पानीलाई ‘डिप बोरिङ’ गरेर १ वर्षअघिदेखि खानेपानी योजना सञ्चालन गरेका हुन् । हिले खानेपानी उपभोक्ता समितिको पहल र धनकुटा नगरपालिकाको लगानीमा ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सञ्चालन गरिएको स्थान हिलेको तोङ्बाचोकदेखि उत्तरपानी जाने बाटोको छेउ टिम्बुरे खेलमैदानको पुछारमा पर्दछ । खानेपानी डिप बोरिङ गरेको स्थानबाट करिब २–३ सय मिटर तल रहेको बोक्रेवरबोटे टोलबासीले खाँदै आएको पानी वैशाख लागेपछि अचानक सुक्यो । त्यसपछि स्थानीयहरू गुनासो लिएर वडाकार्यालय पुगेका हुन् ।
खानेपानीको मुहान सुकेपछि बोक्रेवरबोटे टोलबस्ती सङ्गठन अन्तर्गतका बुढाथोकी टोलका ३५ घरधुरीको अगुवाइ गर्दै वडाकार्यालयमा आइपुगेका टीकाराम बुढाथोकीले भने, ‘म ६५ वर्षको भएँ, जीवनमा सिस्ने डाँडाको खानेपानीको मुहान सुकेको थाहा थिएन ।’ उनले वर्र्षौंदेखि खाँदै आएको सिस्नेडाँडा मुहानको पानी सङ्कलन गर्न अघिल्लो वर्ष वडा कार्यालयको १ लाख, टोलबासीको ६८ हजारसहित जनश्रमदान गरेर ट्याङ्की निर्माण गरेको तर यो वर्ष झनै पानी सुकेर समस्या भएको बताए । उनले भने, ‘ट्याङ्की बनाइयो तर यो वर्ष त खानेपानीको मुहान नै सुक्यो, अब के गर्ने ?’
अर्का उपभोक्ता यम बस्नेतले पनि सिस्नेडाँडाको खानेपानीको मुहान सुकेको पहिलोपटक थाहा पाएको बताए । उनले पानी सुक्नुको प्रमुख कारण डिप बोरिङ नै भएको बताए । उनले अब आफूहरूलाई पनि त्यही डिप बोरिङको पानीबाट धारा वितरण गर्न वडाध्यक्ष निरेन तामाङसमक्ष आग्रह गरे । अर्का उपभोक्ता भीमबहादुर थापाले भने, ‘हाम्रो खानेपानी मुहानको सिरानमा डिप बोरिङ गरिएकाले पानी सुक्यो । हामीलाई पानीको व्यवस्था हुनुपर्छ ।’
समुद्र सतहदेखि १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको हिलेबजारमा खानेपानीको लागि ‘डिप बोरिङ’ प्रविधिमार्फत् ३ वटा खानेपानी योजनाहरू हाल सञ्चालनमा रहेका छन् । काठमाडौंको एशियन ड्रिलिङ कम्पनीका प्राविधिकहरूले जमिन मुनीको पानीलाई दुई सय मिटर तलसम्म ड्रिलिङ गर्नुपर्ने स्टिमेटमा रहे पनि १ सय ८ मिटर गहिरो ड्रिलिङ गरेपछि पर्याप्त पानी निस्किएको बताएका थिए । उक्त खानेपानीको लागि प्रतियोजना करिब ३५ देखि ४० लाखसम्म खर्च भएको बताइएको छ ।
हिलेमा हाल डिप बोरिङबाहेक विभिन्न ८ वटा स्थानीय मुहानको पानी सङ्कलन गरेर खानेपानी योजना चले पनि सुख्खायाममा पानीको हाहाकार हुने गरेको छ । वडाध्यक्ष निरेन तामाङले भने, ‘स्थलगत रूपमा अनुगमन गरेर समस्याको पहिचान गरी हल गर्नेछौं ।’