सधैको जस्तै २०७४ चैत्र २७ गते तेह्थुमको आठराईका मनकुमार लकान्द्री बसमा सहचालकको काम गर्दै काठमाण्डौलाई परिक्रमा गर्दै थिए । साँझ ग्यारेजमा गाडी थन्क्याउनका लागि उनको बसका चालक टिकाराम बिक हतारमा थिए । रत्नपार्कबाट काँडाघारी जाँदै गर्दा पेप्सीकोला भन्ने स्थानमा रहेको एक घरमा बस नराम्ररी बजारियो ।
चालक र सहचालक मात्र रहेको बसमा रहेका दुबैजना बेहोस भए । उनीहरुलाई उद्धार गर्दै नर्भिक हस्पिटल थापाथली लगियो । नर्भिकमा दुइदिन राखेपछि ट्रमा सेन्टरमा उपचार शुरु गरियो । ट्रमा सेन्टरको १८ दिनको उपचारपछि त्यहाँका डाक्टर राजीव झाको सल्लाह अनुसार लकान्द्री घर आए ।
फलोअपमा जाँदा त्यहाँ डाक्टर नभएको थाहा भएपछि काठमाण्डौ मेडिकल कलेज लगियो । त्यहाँ लकान्द्रीको अपरेसन भयो । चालक बिश्वकर्माको ट्रमा सेन्टरबाट डिस्चार्ज गरियो । फलोअपमा जाँदा त्यहाँ रहेका डाक्टरले औषधी खाइरहनुपर्ने, फिजियोथेरापी गरिरहनुपर्ने बताए ।
उनको चोट लागेको स्थान झन झन दुख्न थाल्यो । दाहिने हात पनि सुक्न थाल्यो । त्यो हात अहिलेसम्म चल्न सकेको छैन । हात चल्ने बनाउन नेपालका ठुला ८ वटा अस्पताल चहारे । कुनै अस्पतालले नशा जोडिन्छ भनेर आशा नदेखाएपछि भारत जान कसैले सुझाव दियो । त्यसपछि थप उपचारका लागि लकान्द्री भारतको भेल्लोरमा रहेको क्रिश्चियन मेडिकल कलेजमा गए ।
भेल्लोरमा कार्यारत डाक्टर बिनोदकुमार थोमस र श्रीकान्तले एक्सरे, एमआरआई, इको, इसिजी गरेर हेरेपछि उनको हात चलाउन सक्ने बताए । त्यसका लागि ९ लाख भारतीय रुपैयाँ लाग्ने डाक्टरले बताए । लकान्द्री नेपाल फर्किए, उनी फेरी काठमाण्डौ मेडिकल कलेजमा गए । भारतको रिपोर्ट देखाए । डाक्टरले हात चल्ने सुझाव दिएको सम्झाए । तर, काठमाण्डौ मेडिकल कलेजका डाक्टरले उनको कुरा पत्याएनन् । र फेरी अपरेसन गर्नुपर्छ भने । ‘फेरी आउँछु’ भनेर लकान्द्री कुलेलम ठोके ।
उनले उपचारका लागि पैसा नभएको हुनाले डाक्टरलाई ढाँटेर भाग्नु परेको बताए ।
उनको हातमा अत्याधिक पीडा हुने गरेको छ । डाक्टरले लेखेका कागज र एक झोला औषधी बोकेर यता र उता भौतारिनु उनको अहिलेको दैनिकी हो । ब्लाष्ट कार्यालयमा आएका उनले भने‘जति सुक्न थाल्यो तेती धेरै दुख्छ, कहिले काँही त दुखाइले नै बेहोस हुन्छु ।’ लकान्द्रीको उपचारका लागि बसधनी बिष्णु ऐर र कम्पनि अन्नपुर्ण यातायात प्रालीले खासै चासो नदेखाएको बताए । बस सञ्चालकले नर्भिक अस्पतालमा ४ लाख ५१ हजार दिएपछि, काँडाघारी प्रहरी कार्यालयमा कम्पनिले ‘सम्पुर्ण उपचार खर्च ब्यहोर्ने’ सहमतिमा हस्ताक्षर गराइयो ।
नेपालको कानुन नबुझेका चालक सहचालकले कम्पनिको कुरा पत्याएर हस्ताक्षर पनि गर्दिए ।
त्यसपछि कम्पनिले उनीहरु दुबैलाई जनही १० हजार रुपैंयाँ दियो । कम्पनिले मिलापत्र गर्न दवाव दिइरहेको लकान्द्रीले बताए । तर, उनले उपचार नभई मिलापत्र नगर्ने भन्दै पन्छिदै आएका छन् । उपचारमा लाग्ने सम्पुर्ण खर्च सवारीधनीको तर्फबाट ब्यहोनुपर्ने उनी बताउँछन् ।
बसधनीले उपचारका लागि लागेको पैसा नदिएपछि आफन्तले ५ लाख खर्च गदिएको लकान्द्रीले बताए । त्यसले पनि नपुगेपछि झापाको कनकाई नगरपालिकामा रहेको एक कठ्ठा जमिन ७ लाखमा बिक्री गरे । अस्पताल र ओहोर दोहोर गर्दा उनको सम्पुर्ण रकम सकियो । आठराई गाँउपालिकाले १० हजार, समाज कल्याण परिषदले २० हजार आर्थिक सहयोग ग¥यो । त्यो बाहेक उनले कतैबाट सहयोग पाउँन सकेका छैनन् । जाय जेथा बिक्री गरेपछि उनले दुइ छोरा र श्रीमतिलाई नजिकैको सुकुम्वासी बस्तीमा छाप्रो बनाएर राखेको बताएका छन् ।
‘अब पुरै बेसहारा भइयो, एउटा छोरा स्कुल जान थालेको छ, अर्काे ६ महिनाको बालक । श्रीमति अर्काकोमा काम गर्दै आएकी छन् । त्यतिले नपुगे माग्न पनि पछि नपर्ने लकान्द्री बताउँछन् । ‘मागेर भएपनि परिवार त पाल्नुप¥यो नि–लकान्द्री भन्छन् ।’
सञ्चारमाध्यममा उनको जस्तै दुख सार्वजनिक भएपछि धेरैले सहयोग पाएको आफुले सुनेको बताउँदै लकान्द्रीले युटुबर भाग्य न्यौपाने र रबी लामिछानेलाई भेटेको बताए । रबीले केही गर्न नसकिने र न्यौपानेले समय नभएको बताएको उनको भनाई छ । उनले उपचारका लागि सहयोग गर्दिए आफु ठिक भएर समाजका लागि योगदान गर्ने बताए ।
उनको उपचारका लागि मनकुमार लकान्द्रीको नाममा कृषि बिकास बैंकमा रहेको खाता नम्बर ०६००७०१३३९११२९०१२ मा रकम जम्मा गरिदिन आग्रह गरेका छन् । लकान्द्रीलाई ९८४०४५०२४८ मा फोन गरेर बुझ्न सकिने छ ।
































