झापा/ ‘अलि–अलि आँखा देख्दा विहे भयो । १० वर्षको उमेरमा अनुहारमा खटिरा आयो । आमाबुबा, श्रीमान्, छोराछोरी सबै मरे । उनीहरूलाई सम्झेर रुँदारुँदै आँखा बन्द भयो ।’ यो पीडा हो झापाको बिर्तामोड–२ की ५२ वर्षीया धामोसरी राजवंशीको । 
 
आँखा बन्द भएयता उनी हालसम्म अस्पताल पुगेकी छैनन् । भएको एउटी छोरी पनि चार वर्षअघि नै बितिन् । भारतको केटासँग विहे गरिदिएकी थिइन् । छोरीको मृत्युसँगै ज्वाइ पनि पराइ भए । वेसाहारा उनलाई अहिले नगरपालिकाको आर्थिक सहयोगमा घर निर्माण गरिदिएको छ । ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल र सहारा नेपालको प्राविधिक सहयोगमा दृष्टिविहीन वृद्धाका लागि घर बनिरहेको हो ।
 
उनी हाल बस्दै आएको ३ धुर जग्गामा नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य नीता धतानीले वेसहारा वृद्धालाई घर निर्माण गर्न नगरपालिका समक्ष पहल थालेपछि ह्याविट्याट र सहारा नेपालको प्राविधिक सहयोगसहित श्रमदानबाट वृद्धाको घर निर्माण हुँदैछ । घतानीले भनिन्, ‘नगरपालिकामा स्वास्थ्य उपचारसहित पालनपोषनको समेत पहल भइरहेको छ ।’ 
 
वृद्धाको घर निर्माणका लागि बिहीबार झापाली पत्रकारहरूको टोलीसहित सहारा नेपालका कर्मचारीले समेत श्रमदान गरेका छन् । झापामा सहारा नेपालले विगत १३ वर्षदेखि निरन्तररूपमा ह्याविट्याटसँगको साझेदारीमा सुरक्षित आवससँग सम्बन्धित कार्यक्रम गर्दै आएको साहराकी कार्यक्रम व्यवस्थापक पुष्पाञ्जली सिन्हाले बताइन् ।
 
झापामा स्थानीय निकायको सहकार्यमा ह्याविट्याटले २ सय १८ विपन्न, दलित, एकल महिलाको घर निर्माण गरेको ह्याविट्याटका व्यवस्थापक सन्दीप पौडेलले बताए । तीनवटा मिडिया बिल्डको साथ ५ डिसेम्बर २०१८ मा झापा, मोरङ र सप्तरीमा शुरु भएको ह्याविट्याट ‘योङ्ग लिडर्स बिल्ड’ अभियानको समापन २५ अप्रिल २०१९ मा हुँदै छ ।