विराटनगर/ मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा र बोक्सीको आरोपमा वृद्धा दम्पती कुटिएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमती कुटिएका हुन् । बोक्सीको आरोप लगाउँदै कुटपिटमा संलग्नभ एका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
धाती टोल बस्ने एकै परिवारका चार जनाले छिमेकी वृद्धवृद्धालाई कुटिपट गरेको प्रहरीले जनाएको छ । बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी वृद्ध दम्पतिलाई कुटपिट गरेपछि ६३ वर्षीय टुनका खवास, ३५ वर्षीय श्यामलाल खवास, ३१ वर्षीय रामकुमार खवास र ३० वर्षीय शशिकला खवासलाई पक्राउ परेका हुन् ।
उनीहरु एकै परिवारका बुवा, छोरा र बुहारी हुन् । शशिकलाले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले बुधबार विहानका राति साढे १ बजे बोक्सा र बोक्सीको आरोप लगाउँदै छिमेकी ६० वर्षीय वृद्ध र उनकी श्रीमतीमाथि घरमै पुगेर सामूहिक रुपमा आक्रमण गरेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले दिए ।
लाट्ठी, लात्ता र मुड्कीले निर्घात कुटपिट गर्दा वृद्धवृद्धा दुवै जना घाइते भएका छन् । वृद्धा कुटपिट भएकै ठाउँमा बेहोस भएर ढलेकी थिइन । उनको अनुहार, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । मानसिक रुपमा पनि विक्षिप्त बनेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । अवस्था केही गम्भीर रहेकी वृद्धालाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो छ । उनलाई केही समयका लागि संरक्षण र रेखदेखको जिम्मेवारी दिएर कोकन नेपाल नामक संस्थाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परिवारका सदस्य सधैं बिरामी पर्ने गरेको र छिमेकी बोक्सा बोक्सी रहेका कारण उनीहरुले गरेको टुनामुनाले बिरामी हुने गरेको भन्दै वृद्धवृद्धामाथि आक्रमण गरिएको खुलेको छ । घरमा चिन्ता बस्ने क्रममा शशिकलाले बोक्सा र बोक्सीको आरोप लगाएपछि परिवारका सबै सदस्य एक जुट भएर घरमै पुगि वृद्धवृद्धालाई निर्घात कुटपिट गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको एसपी केसीले बताए ।
खवास परिवारले वृद्धवृद्धालाई पहिल्यैदेखि बोक्सा बोक्सीको आरोप लगाउँदै आएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । पक्राउ गरिएका चारै जना विरुद्ध प्रहरीले बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
































