इटहरी/ इटहरी–९ की रेखा शाहको दैनिकी इटहरी चोकमा बसेर मकै बेच्नु उनको अहिलेको दैनिकी हो । अहिले उनी दैनिक ८० देखि १ सय घोगासम्म मकै बेच्छिन् । त्यसबाट ८ सयदेखि १ हजार रुपैयाँसम्म कमाउँछिन् । विगत ४ वर्षदेखि मकै पोलेर उनले चारजनाको परिवार पालन–पोषण गरेर छोराछोरीलाईसमेत पढाउँदै आएकी छन् । उनी आफ्नो जीवनको कथा सुनाउँदै भन्छिन्, ‘१२ वर्षअघि पालुङको ट्रक ड्«ाइभरसँग भागेर विहे गरेपछि मेरो जीवन मोडियो ।’ मकै पोलेर बेच्ने काम धेरै गाह्रो भए पनि व्यापार भने सन्तोषजनक रहेको उनी बताउँछिन् ।
   
इटहरी डेरा गरेर बस्दै आएकी अस्मिता देवको दैनिक ५०–६० घोगा मकै बेच्छिन् । त्यसबाट दैनिक ६ सय रुपैयाँ कमाउँछिन् । मकै पालेर उनले ५ जनाको परिवार चलाएर दुई छोरीलाई सरकारी विद्यालयमा पढाइरहेकी बताइन् । उनी सिजनमा मकै पोलेर बेच्छिन् । अफ सिजनमा पतिले चलाएको सफारीबाट घर चल्ने बताउँदै उनी भन्छिन्, ‘हाम्रो जीवनमा धेरै समस्याहरू भोगियो, जसोतसो मकै बेचेर जीवन चलाइरहेका छौं ।’
 
जतिसुकै चर्को घाम होस् वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस् काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, केही महिलाहरूलाई । सानो काम गर्न लजाउने हाम्रो समाजमा उदाहरणीय बनेका छन् यी सडकछेउमा जीविकोपार्जन गर्ने महिलाहरू– जसले न लाज मान्छन्, न गाह्रो । वैशाखको टन्टलापुर घाममा पनि आगोको रापमा मकै पोलेर जीवन धान्दै आइरहेका छन् । मध्यदिनको चर्को घामको समेत परवाह छैन रेणु मण्डललाई । परवाह छ त उनलाई मकैका कति घोगा बिक्री भए । उनलाई त्यो बिक्री गरेर बचत भएको पैसाले सिङ्गो परिवारको जीवन चलाउनु छ ।
 
इटहरी–९ की मण्डलको दिनचर्या विगत ४० वर्षदेखि मकै पोलेरै बितेको छ । जुन कार्यमा उनको जीवनयापनको बलियो आधारसमेत भएको छ । मकै पोलेर आफ्नो आधाभन्दा बढी जीवन बितेको उनी बताउँछिन् । ‘यिनै मकैका घोगालाई नै जिउने आधार बनाएको छु’ उनले भनिन्, ‘यो काम गरेन भने साँझ बिहान हातमुख जुटाउने समस्या छ ।’ भनिन्छ– इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन् रेणु । तीनजनाकोे परिवारलाई मकैको घोगाकै भरमा पाल्ने गरेकी छन् । मासिक २० देखि ४० हजार रुपैयाँ कमाउने उनी बताउँछिन् । आफ्नो कमाइले सबै परिवार पाल्नुपरेको उनी बताउँछिन् । 
 
वैशाखको चर्को घाम नभनी छाताको ओतमा आगोको राप र तापसँग खेल्दै बसपार्कछेउमा मकै पोलेर बेच्ने गर्छिन् मुन्ना साह । परिवार पाल्ने अरु कुनै उपाय नभएपछि विगत ७ वर्षदेखि प्रत्येक सिजनमा मकै खरिद गर्ने र सोही मकैलाई पोलेर बेचेको पैसाबाट परिवार पाल्ने गरेको बताइन् । ‘अरु कुनै उपाय छैन, यही मकैले जीवन गुजारा गदै आएका छौं’ –उनले भनिन् । इटहरी चौकमा १० वर्षदेखि मकै पोल्दै आएकी छिन् फूलमती राजवंशीले । बिहानै चार बजे उठेर मकै किनेर ल्याउनु उनको दिनचर्या बनिसक्यो ।
 
बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म मकै पोल्न भ्याई नभ्याई हुन्छ, उनलाई । परिवारमा चार जना छन् । श्रीमान् सफारी कुदाउँछन् । मासिक १० देखि १५ हजार सहजै कमाइ हुने उनी बताउँछिन् । सुन्दरहरैंचा घर भएकी अरुणदेवी मिश्रा पनि मकै पोलेर दिन कटाउँछिन् । १० वर्षदेखि मकै पोलेर महिनामा १० देखि १५ हजार कमाउने गरेको उनी बताउँछिन् । ‘मकैको सिजनमा मकै बेचेरै गुजारा चल्छ । मकैको सिजन सकिएपछि भने बदाम र सुन्तला बेच्ने गर्छु । जीवन धान्न गाह्रो छ, यही मकै बेचेरै जीवनको गुजारा गर्र्दै आइरहेकी छु ।