वराहक्षेत्र/ धार्मिक गुरु कृष्णदासले सञ्चालन गरिरहेको रामानन्दाचार्य सेवापीठपरिसरमा हुकिङ गरिएको अवस्थामा लत्रिएको विद्युत्को तारमा परी एक युवा घाइते भएका छन् ।
वराहक्षेत्र–१ भण्डारीटारका फुर्वा शेर्पा मङ्गलबार साँझ घाइते भएका हुन् । रामानन्दाचार्य सेवा पीठ प्रवेश गर्ने सहायक गेटबाट पीठपरिसरमा रहेको शौचालय जाँदै गरेका शेर्पा हुकिङ गरेको तारमा अल्झिँदा करेन्ट लागी घाइते भएका हुन् । मोटरसाइकलमा सवार शेर्पालाई करेण्ट लागेपछि उछिट्टिएर लड्दा घाइते भएको स्थानीय साजन राईले जानकारी दिए ।
करेण्ट लागेका शेर्पाको दाहिने खुट्टा पिल्सिएको र देबे्र हातको बूढी औंला चलाउन नमिल्ने भएको पीडित शेर्पाले बताए । लापरबाही तरिकाले लगिएको विद्युत्का कारण आफूलाई करेण्ट लागेको भन्दै शेर्पाले क्षतिपूर्ति माग गर्दै प्रहरीमा उजुरी दिने बताएका छन् ।
घाइते शेर्पालाई चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका मुद्दा फांँटका असइ विपेशकुमार देवले बताए ।
सेवापीठका संरक्षक धार्मिक गुरु कृष्णदासले आश्रममा मिटरबाटै सबै विद्युत् जडान भएकाले सो तार सेवापीठको नभएको स्पष्ट पारे । उनले भने, ‘आश्रममा मिटर लगाएको छ । बाहिरफेर तान्ने हामीले व्यवस्था गरेका छैनौं ।’ कृष्णदासले कुम्भमेला आयोजकले विद्युत् वितरण गरेकाले सेवा पीठले हुकिङ नगरेको बताए ।
कुम्भमेला विद्युत् व्यवस्थापन उपसमितिका संयोजक प्रकाश राउतले समितिले विद्युत् हुकिङ गरेर वितरण नगरेको स्पष्ट पारे । यता स्थानीयवासीले भने धार्मिक गुरु कृष्णदासको पीठले साँझ परेपछि हुकिङ गर्ने गरेको आरोप लगाएका छन् । ‘दिउँसो विजुली चोरेको हुँदैन, साँझ भएपछि आश्रमबाट विजुली चोरी गर्ने गरिएको छ’ –स्थानीयले भने ।
अनुमति नलिई सेवापीठले यसअघि पनि विद्युत् लाइनबाट सोझै हुकिङ गर्ने गरेकाले बेलाबखतमा सजग गराइएको नजिर रहेको चतरा जलविद्युत् केन्द्रले जानकारी दिएको छ । पीडितका परिवारले घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
































