हिले /आकासमा कालो वादल मडारिरहेको थियो, चारैतिर अध्याँरो थियो, चिसो चिसो मौसम । लाग्थ्यो सवैलाई कतिखेर आउने हुन अनि नाचिन्थ्यो, छमछमी भनेर घण्टौं देखी प्रतिक्षारत थिए, हजारौं दर्शकहरु । पर्खा थियो लोकप्रिय लोक गायक शम्भू राईको ।
रामनवमी पर्वको अवसरमा आयोजित दोश्रो हिले खाना महोत्सवको तेश्रो दिन हुँदै थियो ।
चैत्र ३० गते देखी शुरु भएको दोश्रो हिले खाना महोत्सवमा आयोजित साँस्कृतिक कार्यक्रममा सोमवार साँझ नेपालमा मात्र नभएर विश्वभर चर्चित पुर्वेली लोक गायक शम्भु राईले मेलालाई तताएका थिए ।
राईले आफ्नो सांगितिक कोसेलीको रुपमा शुरुमा ‘घर त हिले हो, चाहिन्दैन सम्पति दिल त मिले भो....’ भन्ने वोलको गित गाएर आफ्नो गाउँका छिमेकी दर्शकहरुलाई नचाए । राईको जन्म घर धनकुटाको चुङ्गवाङ्ग हो, हिले उनको वाल्यकाल र युवा अवस्थामा हटिया भर्ने ठाउँ भएर पनि होला उनले घर त हिले हो वोलको गितवाट उनले आफ्नो सांगितिक कार्यक्रमको शुरु गरेका थिए ।
हिले दोश्रो खाना महोत्सव आयेजक हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाले तोङ्गवा चोक नजिकैको वसपार्कमा व्यावस्थापन गरेको महोत्सव स्थलमा हजारौं दर्शक खचाखच थिए ।
राईले दोश्रो कोसेलीको रुपमा ‘आलुदम चाना लाईराखे माया नि लै लै छोटो सम्झना..’ गाएका थिए । त्यस पछि ‘यो माया त कहाँका–कहाँको, मा¥यो नी मायाले, भुत्तुकै पा¥यो नी हौ, तिम्रै मायाले, ढुंग्री वुलाकी, हाँसी, हासी लाउन माया जे पो होलानी, धारापानीमा, के माया लाउनु छ, जिन्दगानीमा लगायत डेड दर्जन भन्दा वढी गित गाएर राईले हजारौं धनकुटेली दर्शकलाई हिलेको चिसोमा पसिना फुट्ने गरी नचाएका थिए ।