काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा श्रेष्ठलाई ‘नेपालरत्न’ द्वारा विभूषित गरिएको हो । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरे । त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरियो ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवम् साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरिएको छ ।
विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनीहरूलाई राष्ट्रपतिले सुशोभित गरेकी हुन् ।