पथरीशनिश्चरे । मोरङको लेटाङ ९ जाँतेमा हालसम्म कुनै पनि सडक कालोपत्रे नभएको अवस्थामा पहिलो पटक २ किलोमिटर २ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

पथरी जाँते सडक क्षेत्र ग्राभेलसम्म भएपनि जाँतेका अन्य सडक ग्राभेल समेत हुन नसकेको अवस्थामा मदन चोकबाट पूर्वपश्चिमको सडक कालोपत्रे हुने भएपछि स्थानीय उत्साहित बनेका छन् ।

स्थानीयको मंगलबारको भेलाले दुईतिरको सडकका लागि छुट्टा छुट्टै २ समिति निर्माण गरी ४० फिट चौडाई क्षेत्रमा ६ मिटर सडक कालोपत्रे थाल्ने प्रक्रिया अघि बढेको वडाध्यक्ष कृष्ण लुइटेलले जनाए । पूर्व तेली खोलाको डिलदेखि पश्चिम मोरङ्गेखोलासम्म २ करोड २५ लाखको लागतमा कालोपत्रे हुने सडक २ करोड २५ लाखको कुल लागतमा सडक निर्माण केही दिनभित्रै सुरु हुने लुइटेलले बताए ।

कुल लागत मध्ये ६५ लाख प्रदेश सांसद विकास कोषको र १५ लाख वडा कार्यालयको लगानि रहने मदन भण्डारी लोकमार्ग निर्माण समिति अध्यक्ष सोमनाथ निरौलाले जनाए । अन्य रकम नगरपालिकाको व्यहोर्ने छ । तेलीखोला पश्चिम डीपीएम मार्गसम्मको कालोपत्रेका लागि ख्यामराज भट्टराई अध्यक्ष र तेलीखोला पूर्वको लागि डिल्ली तिम्सिना अध्यक्ष चुनेर सडक निर्माण उपभोक्ता समिति गठन भएको छ ।