भारतीय चुनावका क्रममा कयौं बलिउड फिल्म स्टारहरू आफ्नो भाग्य परीक्षण गरिरहेका छन् । यही मैदानमा ९० को दशककी अभिनेत्री उर्मिला मातोण्डकर पनि कङ्ग्रेस पार्टीबाट टिकट लिएर मुम्बईदेखि चुनाव लड्दै छिन् ।
विगत केही समयदेखि बलिउड बजारमा उर्मिलामात्र नभएर चर्चित अभिनेत्री माधुरी दीक्षित पनि कुनै पार्टीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिँदैछिन् भन्ने गसिप उडिरहेको छ । तर, हालैमात्र यी अड्कलबाजीहरूको खण्डन गर्दै माधुरीले राजनीतिमा आफ्नो चाख नभएको स्पष्ट पारेकी छन् । उनले आफूले यो क्षेत्रमा कदम नराख्ने बताएकी छन् ।
बीबीसीसँग कुराकानी गर्दै माधुरीले भनेकी छन्, ‘म राजनीतिमा आइरहेकी छैन । राजनीतिमा आउने मेरो रुचि पनि छैन, यसमा ज्ञान पनि हुनुपर्दछ । यदि कोही राजनीतिमा प्रवेश गर्छ भने केहीमात्रामा भए पनि यसको ज्ञान हुनु आवश्यक छ ।’ कुराकानीकै क्रममा माधुरीले भनिन्, ‘यदि फिल्मका क्षेत्रमा काम गर्ने कलाकारले उहाँहरू राजनीतिका लागि योग्य हुनुहुन्छ भन्ने महसुस गर्नुहुन्छ भने अवश्य त्यस क्षेत्रमा लाग्नुपर्छ, राजनीतिमा प्रवेश गर्नुहुन्छ भने उहाँहरूलाई मेरो पूर्ण समर्थन छ, तर म चाहिँ राजनीतिमा लाग्दिनँ ।’