धरान/ नेपालको ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपाल बेला–बेला विवादमा तानिन्छ । यसपटक मिस नेपाल–२०१९ शुरुमै विवादमा फसेको छ ।
केहीदिनदेखि सामाजिक सञ्जालहरूमा मिस नेपालकी कोरियोग्राफर तथा अडिसनकी जज रहेकी रचना शर्मा गुरुङले अडिसनमा सहभागी ललितपुरकी अस्मिता महर्जनलाई मेकअप नगरेको विषयमा हप्काएको भिडियो भाइरल भइरहेको छ ।
कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी अस्मिता मेकअप नगरी अडिसनमा पुगेकी थिइन् । उनलाई जज रचनाले ‘किन मेकअप नगरी आएको ?’ भनेर हप्काइन् । अस्मिताले ‘मलाई मेकअप गर्नै आउँदैन’ भनेर जवाफ दिएपछि रचना अझै रिसाउँदै ‘मेकअप गर्न नआउने मान्छे अहिलेको एक्काइसौं शताब्दीमा मिस नेपालमा भाग लिन आएर मिस नेपालको गरिमालाई कमजोर बनाउन खोजेको आरोप लगाउँछिन् । अस्मिताले ‘म सिक्छु’ भनेपछि पनि रचनाले गालीकै शैलीमा भनिरहिन्, ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर गर्यौ ।’
मेकअपको कुरापछि पनि रचनाको रिस शान्त भएन । उनले अस्मिताको चश्मा र आँखाको पावर बारे प्रश्न गरिन् । भिडियो सार्वजनिक भएपछि धेरैले आयोजक हिडन ट्रेजर र रचनालाई गाली गरे । मिस नेपाल शृङ्खला खतिवडाले भने सामाजिक सञ्जालमा मेकअपबिनाको आफ्नो फोटो शेयर गर्दै, ‘मेकअप नगरे पनि सुन्दर’ भनेर लेखिन् ।
विवादको विषयमा मिस नेपालको आयोजक हिडन ट्रेजरले आइतबार विज्ञप्ति नै जारी गरेर मिस नेपालले आफ्नो प्रक्रियाअनुसार नै अडिसन लिएको जनाएको छ । विज्ञप्तिमा रचनाको बचाउ गर्दै सहभागीको राम्रो जवाफको लागि त्यस्तो प्रश्न गरिएको भनिएको छ । छनोटसमेत भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।