विराटनगर । चार जना युवाको समूहले मादक पदार्थ सेवन गरि विराटनगर स्थित कोशी अञ्चल अस्पतालभित्र प्रवेश गरेर चिकित्सवमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरि हुलदंगा र होहल्ला गर्दै अस्पतालका चिकित्सवलाई हातपात गर्नेलाई मोरङ प्रहरीले शनिबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका – ३ का ३० वर्षीय विनोद राय, सोही ठाउँका २३ वर्षीय उमेश राय, २५ वर्षीय जागवत मलहा सहनी र २५ वर्षिय प्रमोद राय रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उपचार गराउने बाहनामा शनिबार साँझ अस्पताल प्रवेश गरेर उनीहरुले आकस्मिक कक्षका चिकित्सक डा. सुनिलबावु खनाललाई हातपात गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवन गरेर हिंड्ने क्रममा बाटोमा लडेर विनोदको हातमा चोट लागेको भन्दै उनीहरु उपचारका लागि कोशी अस्पताल आएका थिए । विनोदसहित चारैजनाले आकस्मिक कक्षका चिकित्सकहरू र अस्पतालका कर्मचारीलाई अपशब्द बोल्दै दुव्र्यवहार र हातपात गरेको डिएसपी श्रेष्ठले बताए ।

घटनाको जानकारी पाएर पुगेको प्रहरीलाई समेत युवाहरुले हातपातको प्रयास गरेका थिए । ‘उपचार गराउन भन्दै आएका युवाहरुको समूहले अस्पतालभित्र उपचार गराइरहेका अन्य बिरामीलाई समेत असर पर्ने गरी होहल्ला गर्दै चिकित्सक र कर्मचारीलाई आक्रमणको प्रयास गरेको पाइयो, डिएपी श्रेष्ठले भने, ‘सम्झाई बुझाई गर्दा उल्टै प्रहरी टोलीमाथि अभद्र व्यवहार गरे । यसरी हातपात गर्नेलाई नियन्त्रणमा लिएका हौं ।’

प्रहरीको अनुसार पक्राउ परेकाका चारै जना युवाको स्वास्थ्य परीक्षण गराउँदा सबैजनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । प्रहरीले नियन्त्रणमा लिएको युवालाई बिना कारवाही छाड्नका लागि राजनैतिक दलका नेता र विभिन्न ठाउँबाट दबाब आएको थियो । यद्यपी प्रहरीलाई दबाव आएपछि आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा चारैजना विरुद्ध ‘अभद्र व्यवहार’ अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।