सिरहा । सिरहाकाे मिर्चैया नगरपालिका वडा नम्बर ६ कटारी चौकस्थित मंगलम् हेल्थ केयरको लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापरवाहीका कारण सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ९ का करिब ५० वर्षीय शिवजी महतोको मृत्यु भएको छ ।
विष सेवन गरेर उपचारको लागि महतोको परिवारहरु मंगलम हेल्थ केयर सेन्टर पुगेका थिए । उपचारमा कमी भइरहेको महसुस हुन थालेपछि थप उपचारको लागि बाहिर लान खाेज्दा मंगलम हेल्थ केयरका चिकित्सक शम्भु साहलाई बारम्बार अनुरोध गर्दा समेत रेफर गर्न नमानेको परिवारजनको आरोप छ ।
लामो समयसम्म उपचार गर्दा पनि बिरामीमा सुधार नआएपछि हामीले रिफर गर्न भने पनि हेल्थ सेन्टरले नमानेको मृतकका भतिजा गंगा महतोले जानकारी दिए । हेल्थ केयरले सात दिनसम्म राखेर शिवजी महतोको मृत्यु भएको उनका परिवारजनका आरोप छ ।
यता, चिकित्सक शम्भु साहसँग बुझ्दा आफु माथि लगाएकाे अारोप गलत भएकाे बताए । घर जान्ने क्रममा बिरामीको मृत्यु भएको चिकित्सक शम्भु साह बताए ।
प्राथमिक उपचार गर्ने कानुनी व्यवस्था भएपनि कानुनी प्रावधान अनुसार हेल्थ केयर सेन्टरले तत्काल उपचार सम्भव नभए बढीमा ३ घण्टा राखेर अन्यत्र रिफर गर्नुपर्ने हुन्छ । तर हेल्थ केयर सेन्टरले भने पैसाको लोभमा कानुनी प्रावधानलाई नै उलंघन गर्दै विरामि राख्ने गरेकाे पाइएकाे छ ।
यसअघि गैरकानुनी रुपमा सञ्चालन भइरहेको मंगलम् अस्पताल माथि जिल्ला अस्पताल सिरहाले प्रतिबन्ध लगाएपछि मंगलम पोलि क्लिनिकका नाममा काम गरिरहेको पाइएको छ । पोलिक्लिनिकले विरामीलाई राखेर उपचार गर्ने कानुनी मान्यता नरहेको सिरहा जिल्ला अस्पतालका प्रशासन अधिकृत उमेश कर्णले बताए ।
यता प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले घटनाको विषयमा खोजविन गर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘अस्पतालले कानुनअनुसार गरेको छ छैन, बुझेर कानून विपरित भए उनलाई कानुनी दायरामा ल्याउँछौं ।