धरान/ युट्युब च्यानल र टेलिभिजनको पर्दामा ‘फुःलेन्देकी आमा’ भनेर चिनिएका कलाकार उमेश राई आजभोलि विभिन्न कार्यक्रममा व्यस्त छन् । उनै उमेश शनिबार धरान सभागृहमा दर्शक हँसाउन आइपुगे ।

धरानमा भएको ‘सुर सरगम साङ्गीतिक कार्यक्रम तथा स्मुल आइडलको पुरस्कार वितरण कार्यक्रम’ मा दर्शकलाई मनोरञ्जन दिन आइपुगेका उनले विभिन्न क्यारिकेचर गरेर हँसाए । शनिबार वर्षाका कारण सभागृहमा दर्शकको कमै उपस्थिति थियो । उपस्थित दर्शकहरू ‘फुःलेन्देकी आमा’ को प्रस्तुति हेर्न लालायित थिए । उनलाई देख्ने बित्तिकै फोटो खिच्नेहरूको लाइन लागिहाल्यो । मञ्चमा उनले प्रस्तुति दिँदा दर्शकहरूले उत्तिकै मनोरञ्जन लिए ।

हाम्रो सुर सरगम समूहले आयोजना गरेको कार्यक्रममा स्मुल आइडलका निर्णायकसमेत रहेका गायक कुशल थलङले साङ्गीतिक प्रस्तुति दिँदा दर्शक, श्रोताले नाचेर साथ दिए । कुनैबेला धरानमा साङ्गीतिक सङ्घर्ष गरेका कुशलले विगतका दिन सम्झिँदै आफ्ना गीतहरू सुनाए । गायकबाट अभिनेतासमेत बनेका कुशलसँग पनि फोटो खिच्ने दर्शक/श्रोता उत्तिकै थिए ।

कभरसङ गाएर चर्चामा आएका महेन्द्र राई र दीपा तामाङको साङ्गीतिक जोडी पनि धरानमा मज्जाले जम्यो । पछिल्लो समय गायनसँगै अरुका गीतमा सङ्गीत भर्न व्यस्त रहेका महेन्द्र—दीपाले मञ्चमा गाउँदा दर्शकहरूले उसैगरी नाचेर साथ दिए ।

कार्यक्रममा स्मुल आइडलका निर्णायक तथा सङ्गीतकार ओमप्रकाश राई पनि उपस्थित थिए । लामो समय धरानमा सङ्गीत प्रशिक्षण दिएका राई अहिले काठमाडौंमा छन् ।

कार्यक्रममा स्मुल आइडल दोस्रो संस्करणका विजेताहरूलाई पुरस्कार वितरण गरियो । प्रतियोगितामा प्रथम हुने दार्जिलिङकी तार्मी लेप्चाले एउटा गीत रेकर्डको अवसर पाइन् ।

दोस्रो हुने काठमाडौंका विनोदराज तिवारीले इलेक्ट्रिक गितार, तेस्रो हुने सिक्किमका सागर तामाङले हार्मोनियम र चौथो हुने धरानका प्रेम लामाले अकस्टिक गितार पाए । स्मुल आइडलको दोस्रो संस्करणमा जम्मा २ सय १६ जना सहभागी थिए ।