धरान । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा शनिबार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
खेतमा काम गरिरहेको अवस्थामा बिहानतिर सोही ठाउँका प्रकाश राउतको उपचारको क्रममा मृत्यु भएको छ । मृतक राउतको श्रीमती सुनिता राउत र भाउजु मञ्जु राउत गम्भीर घाइते बनेका छन् । चट्याङ लागेका उनीहरुलाई ओमसाइ पाथीभरा अस्पताल भद्रपुर पठाइएको थियो भने उपचारको क्रममा प्रकाशको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै मोरङको बूढीगंगा गाउँपालिका–३ मा चट्याङ लागेर १० वर्षीया आरधना राजवंशीको मृत्यु भएको हो । गाईबस्तु फुकाउने क्रममा चट्याङ लागेर गम्भीर बनेकी उनको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।