धरान/ कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पछिल्लो समय सामाजिक काममा सक्रिय छन् ।

२०७२ को भूकम्पपछि समाजसेवामा सक्रियतापूर्वक लागेका उनी अहिले हावाहुरी पीडितका लागि राहत लिएर बारा जिल्ला पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनका तर्फबाट उनले बारा जिल्लाका चार सय पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सितारामले गाउँपालिका अध्यक्ष अमिरीलालप्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरूलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् ।

धुर्मुसले राहत वितरणको फोटो फेसबुकमा राख्दै बारा र पर्साका हावाहुरी प्रभावितलाई आवश्यक राहतमा विभिन्न व्यक्ति तथा संस्था खटिरहेको र प्रदेश सरकार पनि प्रभावितसमक्ष जिम्मेवार ढङ्गले प्रस्तुत भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘घरबार गुमाएर खुल्ला आकाशमा रात काट्न बाध्यहरूका लागि गाँस, बाससहित छिटोभन्दा छिटो पुनर्वास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुनर्वासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’