दमक । झापाको दमकमा मंगलबार दिउँसो सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दमक–९ स्थित मालपोत कार्यालय नजिकै भएको दुर्घटनामा परी इलाम चुलाचुलीका ६२ वर्षीय सुवास राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पूर्वबाट काठमाडौ जाँदै गरेको ना५ ख ४७१५ नम्बरको बाँस बोकेको कण्टेनरले को८ प ८८९६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले भनाइ छ ।

सोही ठाउँका मोटरसाइकल चालक अशोक राई घाइते भएको र उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेको दाहिने करङ पिल्सिएको, दाहिने हातमा र घुँडामा सामान्य चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताए । दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।