विराटनगर । यहाँस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार गर्ने प्रविधि ल्याएको छ ।

यस अस्पतालमा अब रेटिनाको सल्यक्रियाका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा शुरु गरेको हो । यसअघि अस्पतालमा आउने बिरामीहरूमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नेहरू अन्य अस्पतालमा पठाउनु पर्ने बाध्यता थियो । अबदेखि अस्पतालमै सेवा सञ्चालन हुने सञ्चालक राजेश प्रसाईंले बताए । ‘यो सेवा काठमाडौंपछिको पहिलो अत्याधुनिक सेवा हो,’ उनले दाबी गर्दै भने ।

अस्पतालले वार्षिक करिब १ लाख बिरामीलाई ओपिडी सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । तुलनात्मक रूपमा रेटिनाको सल्यक्रिया भने महँगो छ । रेटिनाको सल्यक्रियाका लागि ३ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँ लाग्छ । देशभरमा करिब ३५ वटा आँखा अस्पताल रहेकोमा यस्तो सेवा दिने आँखा अस्पताल थोरै मात्रै छन् । यसले १ नम्बर प्रदेशका मात्रै नभएर भारतको बिहारलगायतका क्षेत्रबाट आउने बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ ।

भारतभन्दा नेपालमा तीन गुणा सस्तोमा आँखा उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालले नयाँ सेवाका लागि ३ करोड रुपैयाँको लागतमा मेसिन जडान गरेको छ । थप केही दिनपछि २ करोडको लगानीमा नयाँ मेसिन जडान गरिने जनाएको छ । उक्त अस्पताल २०६८ साल फागुन ७ गेतदेखि सञ्चालनमा आएको हो ।