अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटा फिल्म नसकिँदै अर्को फिल्मको अफर आइरहेका छन् । उनी पनि लगातार एकपछि अर्को फिल्म गरिरहेकी छन् ।
नवल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त उनले निर्देशक हेमराज बिसीको फिल्म ‘शुभ विवाह’ पनि साइन गरिसकेकी छन् । यो फिल्म केही समयपछाडि धकेलिएपछि उनले एक नयाँ फिल्ममा साइन गरेकी छन् ।
‘मारुनी’ को छायाङ्कन पूरा भएलगत्तै उनले निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टीका निधारमा’ मा काम गर्ने भएकी छन् । सोमबार साम्राज्ञी सो फिल्मका लागि अनुबन्ध भएकी हुन् । फिल्ममा निर्देशक शर्माका छोरा अङ्कित शर्माको अपोजिटमा उनी देखिनेछिन् । यो फिल्मका लागि उनले १६ लाख पारिश्रमिक लिएको बुझिएको छ ।
‘रातो टीका निधारमा’ मा साम्राज्ञीसँगै नीता ढुङ्गाना, रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यो फिल्ममा निर्देशक शर्माकै पुरानो फिल्म ‘अल्लारे’ को गीत ‘रातो टीका निधारमा’ गीतलाई रि–एरेञ्ज गरेर राखिनेछ ।
फिल्मको वैशाख अन्तिम साताबाट छायाङ्कन शुरु हुँदैछ । अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने निश्चित भइसकेको यस फिल्मलाई निर्देशक शर्माले नै निर्माण र निर्देशन गर्नेछन् । अहिले फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्मका लागि अभिनेत्री जसिता गुरुङलाई प्रस्ताव गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमति हुन सकेको थिएन ।