ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङका एक युवकले आफ्नै बुबाको हत्या गरेका छन् । सोही ठाउँका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबुको ज्यान गएको हो ।

कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारको लागि झापा लैजाने क्रममा बाटैमा आइतबार मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि आफ्नै भान्साघरभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए ।

घटनापछि गजेन्द्रलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए । मृतकको शव सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टमपश्चात् आफन्तलाई जिम्मा लगाइएको थापाले बताए ।