जिरोपोइन्ट/ आप्रवासी महिला कामदारहरूको स्थानीय संस्था सामना नेपालको आयोजनामा शनिबार धरान–८ को वडा कार्यालयमा एकदिने स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
 
धरान वडानम्बर ८ को सहयोग र मञ्जुश्री पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेण्टर धरानको प्राविधिक सहयोगमा भएको उक्त एकदिने स्वास्थ्य शिविरमा धरान वडानम्बर ८ मा बसोबास गर्ने ८५ जना महिलाले सुविधा लिएका थिए ।
 
शिविरमा विशेषगरी अधिकतम् महिलाहरूमा क्याल्सियमको कमी पाइएको छ । साथमा पाठेघरमा समस्या, पाठेघर झरेको समस्या पनि भेटिएको सामना नेपालकी अध्यक्ष चेतना श्रेङले बताएकी छन् ।
 
स्वास्थ्य शिविरमा बीपी प्रतिष्ठानका प्रोफेसर डाक्टर अजय अग्रवाल र डाक्टर सेलिसा उप्रेतीले सहजीकरण गरेका थिए । केही महिलाहरूलाई बीपी प्रतिष्ठान जान डाक्टरले सल्लाह दिएका छन् । साथमा स्वास्थ्य शिविरमा सुविधा लिएका महिलाहरूलाई आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको थियो ।
 
समाजमा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका र रोग लुकाएर बसेका महिलाहरूलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष श्रेङले बताइन् ।