धरान / आर्थिक अभावमा सानैदेखि ब्रेन ट्युमरबाट पीडित उर्लावारी–४ की राधिका दर्जीको आज निशुल्क शल्यक्रिया भएको छ । लामो समयदेखि आर्थिक अभावकै कारण उपचार पाउन नसक्दा ब्रेनमा ट्युमर बोकेर बसेकी थिइन । ट्युमरकै कारण उनले आँखाको ज्याती गुमाएकी छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही चिकित्सक तथा पूर्वाञ्चन ज्ञानचक्षु विद्यालय व्यवस्थापन समितिको पहलमा आज ब्रेनमा जमेको पानी शल्यक्रिया मार्फत निकालिएको छ । राधिकालाई ७ बर्षदेखि ट्युमर भएको थियो ।
उनको उपचार गर्न ६÷७ लाख चाहिने भए पछि अर्काको घरमा बनीबुतो गरेर खाने राधिकाका बाबु कालीबहादुर दर्जीले उपचार गर्न सकेका थिएनन् । ६ वटा सन्तान जन्माएका कालीबहादुरकी राधीका ठूली छोरी हुन् । गरिवीकै कारण छोरीको रोग पालेर उनी बसेका थिए । एक महिना अघि बेहोस भए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बीपी प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंह, प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहाललगायतको सकृयतामा उनलाई उपचारका लागि सहयोग जुटाइएको हो । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कक्षा ४ मा अध्ययन राधिकाको उपचारमा लाग्ने औषधिका लागि विद्यालय व्यबस्थापन समितिको पहलमा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेपछी उनको निशुल्क उपचार गरिएको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय व्यवस्थापन समितिका सदस्य रत्न आचार्यले बताए ।
प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशंकर साहले विपन्न कोषबाट शल्यक्रियाका लागि निशिल्क व्यवस्था गरि दिएका छन । औषधि खरिदका लागि धरान १८का वडा अध्यक्ष प्रविण राई , १४ का कृष्ण भट्ट्राई, १७ का सूर्यकुमार भट्टराई र ५ सन्तोष लिम्बुले जनही १६ हजार सहयोग गरेका छन् । प्रतिष्ठान हातामा रहेको टेक्शन फुट सेन्टरले विमारी र कुरुवाका लागि निशुल्क खानाको व्यवस्था गरेको छ ।
त्यस्तै धरानकी पत्रकार सुनिता केसी र धरान ६ का युवा व्यवसायी मुकुन्द कट्वालले ५÷५ हजार तथा घोपा औषधि व्यवसायी संघका सचिव सुवास पौडेलले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछी राधिकाको निःशुल्क उपचार सम्भव भएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष लख्खी गुरुङले जानकारी दिइन ।
आईतबार टाउकोमा जमेको पानी निकालिएको र अव केही दिन पछि ट्युमर निकाल्न दोश्रो अपरेशन गर्नु पर्ने न्युरो सर्जन दाहालले जानकारी दिए ।