काठमाण्डाैं । नेपाली फिल्मका अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघिकी अध्यक्ष निकिता पौडेलले डेढ वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि बोर्ड अध्यक्षका लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । बोर्डको अध्यक्ष बन्नका लागि भट्टराईसँगै सुचित्रा श्रेष्ठ, नरेशकुमार केसी, योगेश घिमिरेलगायतले निवेदन दिएका थिए । त्यसमध्ये भट्टराई नियुक्त भएका हुन् ।

नेपाल चलचित्र निर्माता सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जनपक्षीय चलचित्रकर्मी सङ्घका अध्यक्षसमेत रहेका भट्टराईको कार्यकाल २ वर्षको हुने छ । एक सय हाराहारी फिल्ममा अभिनय गरेका उनले ‘आफ्नो मान्छे’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ जस्ता फिल्म निर्माण गरेका थिए । उनले निर्माण गरेको नयाँ फिल्म ‘यात्रा’ चैत २९ मा रिलिज हुँदैछ ।