पथरी / मोरङको पथरीशनिश्चरे–१ मा भएको षडराज तामाङको शङ्कास्पद मृत्युको १५ दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धान गर्नुको साटो उल्टै मिल्न दबाव दिइरहेको मृतकका परिवारजनले गुनासो गरेका छन् ।
मृतककी पत्नी मनिता गुरुङले किटानी जाहेरी दिँदा पनि प्रहरीले दर्ता गर्न नमानेको र उल्टै प्रहरीले नै मिल्न दबाव दिने वातावरण मिलाइदिएको गुनासो गरिन् । पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरू र विभिन्न पार्टीका स्थानीय नेताहरू पनि पीडितलाई सहयोग गर्ने नाममा प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता नगर्न दबाव दिने गरेको मृतककी भाउजू आङ्रिता तामाङले गुनासो गरिन् । उनले प्रश्न गरिन्, ‘हामीलाई सहयोग गर्ने भन्छन् तर, मुद्दा दर्ता नगर्नू भन्छन्, हामीले कसरी बुझ्ने ?’
मृतकका परिवारले ८ लाख रुपैयाँ दिने आश्वासन देखाउँदै मुद्दा दर्ता नगर्न दबाव आएको बताएका छन् । मृतककी भाउजू आङ्रिता र दिदी टीका तामाङले होटल सञ्चालकहरूसहित १० जनाविरुद्ध किटानी जाहेरी दिँदा प्रहरीले दर्ता नगरेको र शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा नलिएको परिवारले गुनासो गरिरहेका छन् । प्रहरीले भने मुद्दा दर्ता भइसकेको बताएको छ । मुद्दा दर्ता गरेको जनाए पनि जाहेरीमा नाम परेका व्यक्तिहरूलाई अहिलेसम्म नियन्त्रणमा लिइएको छैन । न्याय दिनुको सट्टा उल्टै राजनीतिक दलका नेता, जनप्रतिनिधिसहितको टोलीले शव जलाएर मिल्न दबाव दिएको परिवारको गुनासो छ । ‘मान्छे मारिएको छ, न्याय दिलाउन लाग्नु पर्ने समाजका अगुवाबाट उल्टै पीडामाथि पीडा दिने काम भइरहेको छ’ –मृतककी दिदी टीका तामाङले भनिन् । पत्रकार सम्मेलनमा परिवारले न्याय दिलाइदिन सबैसँग अनुरोधसमेत गरेका छन् ।
घटनाको १५ दिन बित्दा पनि परिवारले दाहसंस्कार गरेका छैनन् । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने मृतकका परिवारको अडान छ । पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति समन्वय समिति पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङले पनि सत्य–तथ्य छानविन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने बताए । पत्रकार सम्मेलन गरेपछि होटल सञ्चालकका आफन्तहरू र केही जनप्रतिनिधिहरूले आफूहरूलाई धाकधम्कीसमेत दिने गरेको पीडित परिवारजनले बताए ।
फागुन १६ गते पथरीशनिश्चरे स्थित सिक्का बार एण्ड लाउञ्जका सञ्चालकसँग तामाङको झगडा भएको थियो । केही समयपछि सोही लाउञ्जनजिकै तामाङको शव फेला परेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय पथरीले सिक्का बार सञ्चालक सञ्जीव गिरी, धीरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पूजन विक र मिलन श्रेष्ठलाई सम्पर्कमा राखेको जनाएको छ ।