काठमाडौं / सर्वोच्च अदालतले राज्य विरुद्धको संगठित अपराध मुद्दा खेपिरहेका डा. सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। आदेश लगत्तै उनी थुनामुक्त भएका छन् ।
बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
‘मिसिलमा संलग्न प्रमाणहरूबाट ठहरबमोजिम हुने नै हँदा निवेदक प्रतिवादी डा. सिके राउत भन्ने चन्द्रकान्त राउतलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्न दिनूु’ भन्ने आदेश गरिएको छ ।
उनी राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थियो । आदेशलाई सर्वोच्चले बुधबारको इजालसले बदर गरेको छ । निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको छ । उनी ६ महिनादेखि केन्द्रीय कारागार सुन्धारामा थिए ।